होबार्ट, तस्मानिया। ग्रेस इन्टरनेशनल तस्मानिया र होबार्ट श्रीलङ्कन लायन्स स्पोर्ट्स क्लबबीच एक वर्षका लागि सम्झौता सम्पन्न भएको छ। होबार्टस्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष, उपाध्यक्ष र पब्लिक रिलेसन्स अफिसरको उपस्थितिमा ग्रेस इन्टरनेशनलका निर्देशक बिकेन्द्र सापकोटा र राजकिरण अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौता विशेषगरी क्रिकेट गतिविधि तथा प्रतियोगितामा सहयोग र प्रायोजन गर्ने उद्देश्यले गरिएको हो। ग्रेस इन्टरनेशनल तस्मानियाले यसअघि पनि तस्मानियन नेप्लिज क्रिकेट एसोसिएसन लगायतका खेलकुद, सामुदायिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तर प्रायोजन गर्दै आएको छ। यस पटक श्रीलङ्कन लायन्स स्पोर्ट्स क्लबसँग भएको सम्झौताले नेपाली र श्रीलङ्काली क्रिकेट समुदायबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै निर्देशक बिकेन्द्र सापकोटाले सम्झौता केवल आर्थिक सहयोगमा मात्र सीमित नभई यसले क्रिकेट खेलमार्फत नेपाली र श्रीलङ्काली समुदायलाई नजिक ल्याउने विश्वास व्यक्त गरे। उनले यसले आपसी मित्रता, सहयोग र बहुसांस्कृतिक आत्मीयतालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै अर्का निर्देशक राजकिरण अधिकारीले ग्रेस इन्टरनेशनलले शिक्षा क्षेत्रमा मात्र नभई खेलकुद र समुदायलाई जोड्ने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। उनले यस किसिमका सम्झौताले अन्तर्राष्ट्रिय विद्यार्थी र यहाँको बहुसांस्कृतिक समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी क्लबका क्लबका अध्यक्ष विश्व यहम्पथले सम्झौतालाई क्लबका लागि महत्वपूर्ण उपलब्धि भन्दै यस्ता खालका अवसरहरूले संस्थालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, समुदायभित्र मात्र नभई बाहिरबाट प्राप्त हुने सहयोगले एकता, विविधता र विकासको वास्तविक प्रतिबिम्ब देखाएको छ। यस अवसरमा अध्यक्ष यहम्पथले ग्रेस इन्टरनेशनल तस्मानियाप्रति सहकार्यका लागि धन्यवादसमेत प्रकट गरेका छन्।
ग्रेस इन्टरनेशनलका १८ भन्दा बढी मुलुकमा आफ्नै शाखा रहेका छन् भने अष्ट्रेलियाका सबै राज्यहरूमा पनि कार्यालयमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग पुर्याउँदै आएको छ। शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद र सामुदायिक गतिविधिमा समेत सक्रिय ग्रेस इन्टरनेशनल तस्मानियाको यस कदमलाई समुदायले सकारात्मक रूपमा लिएको छ।

प्रतिक्रिया