होबार्ट – एभरेस्ट स्टार्स क्रिकेट क्लबले दशैंको अवसरमा तस्मानियामा पहिलो पटक ‘एभरेस्ट सुपर ओभर कप–२०२५’ आयोजना गर्ने भएको छ। आइतबार, २८ सेप्टेम्बरका दिन होबार्टको क्विन्स वाक ओभल, न्यु टाउनमा हुने यो प्रतियोगिता ऐतिहासिक हुने अपेक्षा गरिएको छ।
पेनिरोयल कलेजमा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लक्ष्मण पन्थीले दशैंको समयमा सबै नेपालीलाई एउटै थलोमा ल्याउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस कार्यक्रमबाट संकलन हुने रकम क्लबको क्रिकेट गतिविधि र भविष्यका खेल विकासका लागि प्रयोग गरिने जानकारी दिए।
सन् २०२४ मा स्थापना भएको एभरेस्ट स्टार्स क्रिकेट क्लब हाल तस्मानियाका विभिन्न ग्रेडमा सक्रिय रूपमा खेलिरहेको छ। पत्रकार सम्मेलनमा तस्मानियन नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष कमल भण्डारी, ग्रेस इन्टरनेशनल तस्मानियाका निर्देशकद्वय राजकिरण अधिकारी र विकेन्द्र सापकोटा, भीएक्सएल एजुकेशन तस्मानियाका निर्देशक बिष्णु सापकोटा, खेल अधिकृतहरू सुजित रेग्मी र पियुष जोशी, केबीसी न्यूज अष्ट्रेलियाका निर्देशक खगेन्द्र सत्याल, विभिन्न क्लबका प्रतिनिधि तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आधिकारिक कमेन्टेटर निरञ्जन भण्डारीले गरेका थिए।
प्रतियोगिता हार्ड टेनिस बल प्रयोग गरी छोटो सीमाना, छिटो ब्याटिङ र उच्च स्कोरिङमा आधारित हुने छ। सम्पूर्ण खेललाई एक्जोटिक लेन मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ।
यस पटकको सुपर ओभर कपमा पाँच टिमको सहभागिता रहनेछ। ती हुन् – एभरेस्ट स्टार्स क्रिकेट क्लब, 3D क्रिकेट क्लब, काठमाडौं वारियर्स, चितवन ईगल्स र मुनलाइट राइनोज।

प्रतियोगिताको विजेताले नगद ५०० डलर, मेडल र ट्रफी प्राप्त गर्नेछ।
क्लबका सेक्रेटरी मोइन श्रेष्ठले केबीसी न्यूजसँग कुरा गर्दै दशैंको रमाइलोसँगै समुदायलाई एउटै स्थानमा ल्याएर खेलमार्फत खुशी बाँड्ने उद्देश्यले गरिएको यो सुपर ओभर कप नेपाली समुदायका लागि विशेष दिन बन्ने बताएका छन्।


प्रतिक्रिया