कोरोना लागेकाहरुलाई दिइने ७ सय ५० डलरको सहायता तीन महिना थप

कोरोना लागेकाहरुलाई दिइने ७ सय ५० डलरको सहायता तीन महिना थप


मेलबर्न, अष्ट्रेलिया ।

कोरोना लागेका कारण काममा जान नसकेको तथा काममा पनि बिदा सञ्चित नरहेकाहरुले पाउँदै आएको ७ सय ५० डलरको सहायता रकम हटाउने निर्णयबाट अष्ट्रेलिया सरकार पछि हटेको छ । यो निर्णयको आलोचनासँगै पुनः कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएर यस सम्बन्धी निर्णय गर्दै आगामी सेप्टेम्बर महिनासम्म कायम राख्ने जनाएको हो । यो नियम जुलाई १ तारिखदेखि लागू हुनेछ ।

मन्त्रिपरिषद्को बैठकपछि कुराकानी गर्दै प्रधानमन्त्री एन्थोनी एल्बानिजीले पछिल्लो समय नयाँ प्रकारको कोरोनाको संक्रमण फैलिएको सन्दर्भलाई ध्यान दिँदै यस्तो निर्णय लिइएको जानकारी गराएका छन् । उनले भने, हामी कसैलाई पनि आपतको बेलामा यत्तिकै छोड्दैनौं यसैकारण यो कठीन परिस्थितिमा जसले आफ्नो आम्दानी पनि गुमाउँछ र सञ्चित बिदा पनि छैन त्यस्ता व्यक्तिलाई दिइने सहायता आगामी सेप्टेम्बरसम्म कायमै रहनेछ ।

अष्ट्रेलियामा कोरोना लागेका बिरामी मात्र होइन तिनको रेखदेख गर्नुपर्ने मानिसले समेत आफ्नो सञ्चित बिदा छैन भने सरकारबाट ७ सय ५० डलर भुक्तानीका लागि दिनवेदन दिनसक्ने व्यवस्था छ । जुन महिनादेखि यो कार्यक्रम स्थगित गर्ने निर्णय सरकारले गरेको थियो । स्वास्थ्य अधिकारीहरुले आगामी अगष्ट महिनामा कोरोनाको महामारी बढ्ने जोखिम देखाइरहेका बेला सरकारले मन्त्रिपरिषद्मा नियमित रुपमा यस विषयलाई छलफलमा ल्याउने समेत जनाएको छ ।

सरकारले विभिन्न ईन्डोर भेन्यूहरुमा मास्क लगाउन अभिप्रेरित गरिएपनि मास्क अनिवार्य भने नगरिने समेत स्पष्ट पारेको छ ।