प्रविधिको प्रयोग गरी नोट जलेको भिडियो बनाईयो : देउवाको सचिवालय

प्रविधिको प्रयोग गरी नोट जलेको भिडियो बनाईयो : देउवाको सचिवालय


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले जनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सचिवालयकोतर्फबाट प्रकाशित विज्ञप्तिमा श्रद्धाञ्जलीसँगै गम्भीर आरोप पनि लगाइएको छ ।
जेन–जीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भत्सना गर्दै भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा। आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको विज्ञप्तिमा लेखिएको छ ।

तर त्यस्तो जघन्य अपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई वदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति ध्यानाकर्षण भएको स्वकीय सचिव भानु देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।”


बुँदागत रुपमा निम्न विषय विज्ञप्तिमा स्पष्ट पार्न खोजिएको छ

१. विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु ।

२. जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं ।

यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्वन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु ।

जय नेपाल !

भानु देउवा, स्वकिय सचिव