अवैध चुरोट आयातमा संलग्न दुईजनालाई कारवाही, एकजना जेल चलान

अवैध चुरोट आयातमा संलग्न दुईजनालाई कारवाही, एकजना जेल चलान



सिड्नी, अष्ट्रेलिया ।

१ करोड ६० लाख खिल्लीभन्दा बढी अवैध चुरोट आयात र वितरण गरेको अभियोगमा दुईजनालाई सजाय सुनाइएको छ । बजारमा पुगेको अवस्थामा उक्त चुरोटको मूल्य अन्दाजी १ करोड ३० लाख अष्ट्रेलियन डलरभन्दा बढी रहेको छ।

सिड्नीका ६३ वर्षीय पुरुषलाई १५ महिनाको कैद सजाय र अर्का ३५ वर्षीय पुरुषलाई १८ महिनाको सामुदायिक कैद सजाय गत शुक्रबार सुनाइएको हो ।

दुवै जना २०२३ को अन्त्यतिर न्यू साउथ वेल्समा संयुक्त अपरेसनमार्फत पक्राउ परेपछि सबै अभियोग स्वीकार गरेका थिए।

अष्ट्रेलियन बोर्डर फोर्सको नेतृत्वमा २०२२ को सुरुवातमा सुरु भएको अवैध चुरोट टास्कफोर्सको अनुसन्धानले एक अन्तर्राष्ट्रिय आपराधिक गिरोह चुरोट आयात र वितरणमा संलग्न रहेको पत्ता लगाएको थियो।

यो गिरोहको अपराधिक जटिलता र गम्भीरतालाई ध्यानमा राख्दै सीमा सुरक्षा बल, अष्ट्रेलियन फेडेरल पुलिस र अष्ट्रेलियन क्रिमिनल इन्टेलिजेन्स कमिसनसँग संयुक्त अपरेसन सुरु गरिएको थियो।

अनुसन्धान क्रममा यस गिरोहले विभिन्न समयमा १ करोड ५ लाख देखि ८ करोड खिल्लीसम्मको चुरोट अवैध रूपमा आयात गरेको पत्ता लाग्यो।

२० सेप्टेम्बर २०२३ मा एड्हेसिभ टेप भनेर घोषित कन्टेनरमा चुरोटनै चुरोट फेला परेको थियो । त्यसपछि प्रहरीले इंगलबर्नको एक व्यवसायिक कार्यालय र बार्डियाको आवासीय घरमा छापा मारेर थप प्रमाण र भिडियो संकलन गर्‍यो। त्यस क्रममा ३५ वर्षीय पुरुषलाई पक्राउ गरी राजस्व छली गर्ने नियतले चुरोट आयात गरेको अभियोगमा मुद्दा चलाइयो।

२८ सेप्टेम्बर २०२३ मा प्रहरीले बार्डवेल भ्याली र ब्राइटन स्यान्ड्सस्थित दुई घरमा थप छापा मार्दा गाँजा, ठूलो मात्रामा अष्ट्रेलियन नगद, मोबाइल फोनहरू, एउटा सेफभित्र ११,१०० अमेरिकी डलर, सुन(चाँदीका धातुहरू र १० वटा लक्जरी घडी बरामद गरेको थियो ।
छापामार्ने क्रममा उपस्थित ६३ वर्षीय पुरुषलाई समेत पक्राउ गरी सोही कानुन अन्तर्गत मुद्दा दायर गरिएको थियो।
अष्ट्रेलियन बोर्डर फोर्सका कमाण्डर ग्रेग डाउसले भने, “यो सफलताले देखाउँछ कि सहकार्य र समन्वयमा काम गर्दा आपराधिक नेटवर्कलाई कसरी कमजोर बनाउन सकिन्छ। एबीएफले सीमाबाटै लाखौँ अवैध चुरोट बरामद गरिरहेको छ, जसले हाम्रो समाजलाई सुरक्षित राख्छ।”