जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई १५ लाख, पशुपतिमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई १५ लाख, पशुपतिमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार



काठमाडौँ ।

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै १५ लाख दिने निर्णय गरेको छ । १० लाख क्षतिपूर्तिवापत र ५ लाख अन्य खर्च भनेर दिने निर्णय भएको हो ।

मन्त्रीपरिषद् बैठकले सहादत व्यक्तिलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे अनुसार आज उनीहरुको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । केही जिल्लामा समेत उनीहरुको शव पठाएर उतै दाहसंस्कारको व्यवस्था मिलाइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

मन्त्री अर्यालले सहिद परिवारलाई क्षतिपूर्ति १० लाख रुपियाँ दिइँदै आएको र अहिले पनि १० लाख रुपियाँ क्षतिपूर्ति दिने र अन्य खर्चबापत पाँच लाख रुपियाँ गरी १५ लाख रुपियाँ दिने निर्णय भएको जानकारी दिए ।

उनले अर्थ मन्त्रालयले क्षतिपूर्तिको रकम छुट्याउने र गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गर्ने बताए ।
गृहमन्त्री अर्यालका अनुसार सरकारले घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सहादत प्राप्त गर्ने व्यक्तिको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ ।
जेनजी आन्दोलनमा काठमाडौँसहित देशका विभिन्न जिल्लामा ७२ जनाले ज्यान गुमाएका थिए । आन्दोलनमा दुई हजार तीन सयभन्दा धेरै घाइते भएकामध्ये २८३ जना उपचाररत रहेको जानकारी सरकारले दिएको छ ।

पोष्टमार्टम सकिएपछि ज्यान गुमाएका सहिदको टिचिङ अस्पतालबाट शवयात्रा गरी आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

पार्थिव शरीरमा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । राष्ट्रिय सम्मानपछि मृतकहरुको आफन्तले आर्यघाटमा दाहसंस्कार गरेका छन् । ज्यान गुमाएका सहिदमध्ये ४ जनाको पशुपतिमा गरिएकाे छ .