मंगलबार दिनभर चल्यो नेताका घर, व्यापारीका गोदाम, वडा कार्यालय र नगरपालिका खोजी खोजी जलाउने कार्य

मंगलबार दिनभर चल्यो नेताका घर, व्यापारीका गोदाम, वडा कार्यालय र नगरपालिका खोजी खोजी जलाउने कार्य


काठमाडौं ।

जेन जी पुस्ताले थालेको आन्दोलनमा दमन भएपछि उत्पन्न आक्रोशले मंगलबार ध्वंशको रुप लिन पुग्यो । आन्दोलनकारीहरु सानो सानो समूहमा भएपनि काठमाडौंका विभिन्न क्षेत्रमा रहेका मन्त्री क्वार्टर, नेताका घर मात्र होइन, प्रधानमन्त्रीको निवास र सिंहदरबारमा समेत प्रवेश गरेर आगजनी गरे । यस्तो आगजनीको बेला सुरक्षाकर्मीहरुको भने अत्तोपत्तो देखिएन । उनीहरु त्यहीँ भएपनि अवरोध नगरेको देखिन्थ्यो । निभाउन सकिने आगो पनि यसै सल्किरहेको थियो । सिंहदरबार लगभग १० घण्टा लगातार जलिरह्यो तर त्यसलाई निभाउने प्रयत्न कतैबाट पनि भएन ।

यस्तै हालत थियो सर्वोच्च अदालत, बार एशोसिएसन लगायतका भवनहरुको । प्रदर्शनकारीहरुले बबरमहलको सरकारी कार्यालयमा पनि आगजनी गरेका थिए । उनीहरुले व्यापारीहरुको गोदामलाई निशाना बनाए । मुख्यतः भाटभटेनीका विभिन्न शाखाहरु, गोदाममा उनीहरुले आगजनी गरे । बसन्त चौधरीको निवास, काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, मन्त्री दिपक खड्काको घर, पूर्वमन्त्रीका मात्र नभएर पूर्वप्रधानमन्त्री झलनाथ खनालको समेत घर जल्दा उनकी श्रीमतीको निधन हुन पुग्यो । घटनाको पूरै विवरण आइनसके पनि काठमाडौंमा सरकारी कार्यालयहरु सार्वजनिक सम्पत्ति सबै तोडफोड गरिएको छ ।

यो क्रम देशैभरका अन्य ठाउँमा पनि फैलिँदै गयो । जिल्ला तहका नेताहरुलाई पनि निशाना बनाउने क्रम बढ्दै गयो । साँझसम्म पुग्दा जेन जीले नै विज्ञप्ति निकालेर आफुहरुको आन्दोलन शान्तिपूर्ण भएको र हिंसा गर्नेहरुको घुसपैठ भएको हुनसक्ने कुरा सार्वजनिक भयो । तर, यतिबेलासम्म निकै ढिला भइसकेको थियो । प्रदर्शनकारीहरुले कान्तिपुरको कार्यालय पूरै जलाए भने अन्नपूर्ण पोष्टलाई पनि छोडेनन् । अहिले काठमाडौंमा थोरै टेलिभिजन मात्र सञ्चालनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आन्दोलनकारी अझ बढी उत्साहित हुँदै विभिन्न ठाउँमा घेराउ गर्न पुगेका थिए । यसै क्रममा उनीहरुले सिंहदरबारभित्रै प्रवेश गरी त्यहाँ रहेका विभिन्न महत्वपूर्ण कागजात जलाउनुका साथै गाडीहरुमा आगजनी गरेका थिए ।

अन्य के कति कारणले बन्द भए खुलाउन सकिने अवस्था छैन । अर्थमन्त्री विष्णु पौडेलको घरमा पनि घेराउ गरिएको थियो भने काँग्रेस महामन्त्री गगन थापाको घरमा पनि आगजनी गरिएको थियो । थापाले आफुहरु सुरक्षित रहेको बताएका थिए । उता राष्ट्रपतिको बोहेरा टारस्थित निजी निवासमा मात्र आगजनी भएन राष्ट्रपति भवनमै पनि आगो दन्किरहेको देख्न सकिन्थ्यो । प्रचण्ड निवासमा आगजनी गरेका प्रदर्शनकारीहरुले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरलाई पनि खरानी बनाइदिएका थिए ।