मेलबर्न, अष्ट्रेलिया ।
नेवा गुठी मेलबर्नको आयोजनामा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा शनिबार आयोजना गरिएको ईन्द्रजात्रा भव्य बनेको छ । मेलबर्नमा ईन्द्रजात्रा पहिलो पटक भएको हो । नेपालमा जात्रा आयोजना भएकै दिनमा गरिएको ईन्द्रजात्रामा काठमाडौंको झल्को देख्न सकिन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरियाकी बहुसंस्कृति मन्त्री ईन्ग्रीड स्टीट सहभागी भइन् । कार्यक्रममा बोल्दै मन्त्री स्टीटले विश्वमै सहकार्य र बहुसंस्कृतिको अनुपम उदाहरण भिक्टोरियामा देख्न पाइएको बताएकी थिईन् । उनले जात्राको आयोजनामा संलग्न सबैलाई धन्यवाद पनि दिइन् । कार्यक्रममा सहभागी अतिथिहरुलाई नेवा गुठी मेलबर्नका अध्यक्ष मायाप्रसाद सुवालले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले वर्षा र सहकालका देवता ईन्द्रजात्राको परिचय दिँदै जात्राले यहाँ पनि सामाजिक सद्भाव, संस्कृतिको ज्वलन्त उदाहरण प्रस्तुत गरेको बताएका थिए ।


अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेलले सांसदहरुलाई उपस्थितिको लागि धन्यवाद दिँदै ईन्द्रजात्रा जात्रा मात्र नभएर परम्परालाई दोश्रो पुस्तामा हस्तान्तरण गर्ने चरण पनि भएको बताएका थिए ।

कार्यक्रममा विपक्षी लिबरल पार्टीका नेता ईभान मुलहोलान्ड, भिक्टोरियाकी सांसद क्याथलिन म्याथ्यु, भिक्टोरिया राज्यको तल्लो सदनका सदस्य जोश बुल लगायतका नेताहरुले कार्यक्रम आयोजनाको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।






प्रतिक्रिया