बेइजिङ, चीन।
चीनले सोमबार जापानी आक्रमणविरुद्धको प्रतिरोधको ८०औं वार्षिकोत्सव मनाउँदै द्वितीय विश्वयुद्धकालीन संघर्षमा ज्यान गुमाउने लाखौं नागरिक र सैनिकलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।
तिआनआनमेन चोकमा सम्पन्न परेडमा हजारौं सैनिकहरूको सहभागिता थियो। अत्याधुनिक हतियार, तोपखाना, क्षेप्यास्त्र प्रणालीदेखि नयाँ पुस्ताका लडाकु विमानसम्म प्रदर्शनीमा प्रस्तुत गरियो। परेडको आकर्षण एन्टी ड्रोन हतियारहरु रहेका थिए ।
कार्यक्रमलाई उच्च पदस्थ चिनियाँ नेताहरू, विदेशी दूतावासका प्रतिनिधि तथा हजारौं दर्शकले अवलोकन गरे। सम्बोधन गर्दै अधिकारीहरूले यो परेड चीनको शान्ति, राष्ट्रिय सार्वभौमिकता र सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए।

इतिहासकारहरूको भनाइमा यो परेडले चिनियाँ जनताले १९३७–१९४५ को युद्धमा गरेको बलिदानलाई सम्झनुका साथै नयाँ पुस्तामा राष्ट्रिय गौरव र ऐक्यबद्धताको सन्देश दिएको छ।

यसै अवसरमा विश्व समुदायलाई शान्ति कायम गर्न, द्वन्द्वलाई अस्वीकार गर्न र सहअस्तित्वलाई प्राथमिकता दिन चीनले आह्वान गरेको छ।


बेइजिङस्थित चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध सङ्ग्रहालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता, कूटनीतिज्ञ, सेना र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले युद्धमा प्राण गुमाउनेहरुको सम्झनामा फूलमाला अर्पण गरे।
कार्यक्रममा सम्बोधन गर्दै अधिकारीहरूले इतिहास सम्झनुको महत्त्व जोड दिए। उनीहरूले यो दिवसलाई घृणा कायम राख्नका लागि नभई भावी पुस्तामा शान्ति, स्थिरता र सहअस्तित्वको मूल्य स्थापित गर्नका लागि मनाइने बताए।
इतिहासकारहरूका अनुसार १९३७ देखि १९४५ सम्म चलेको यो युद्ध आधुनिक चिनियाँ इतिहासमा निर्णायक क्षण थियो, जसले विभिन्न राजनीतिक र सामाजिक पृष्ठभूमिका मानिसलाई राष्ट्र रक्षा गर्न एकताबद्ध बनायो। यसले चीनलाई विश्वव्यापी फासिवादविरोधी सङ्घर्षमा महत्वपूर्ण भूमिका दिलाएको थियो।
वार्षिकोत्सव अवसरमा चीनभर प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र शैक्षिक गतिविधिहरू आयोजना भइरहेका छन्, जसको उद्देश्य नयाँ पुस्तामा संघर्ष र प्रतिरोधको स्मृति हस्तान्तरण गर्नु हो।
चीनले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई शान्ति सुरक्षित गर्न, आक्रमणको विरोध गर्न र इतिहासलाई तोडमोड गर्ने प्रयास अस्वीकार गर्न आह्वान गर्दै आएको छ।
प्रतिक्रिया