साउन महिनामा मात्रै २४ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

साउन महिनामा मात्रै २४ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन मै नेपालले ठूलो मात्रामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति प्राप्त गरेको छ। उद्योग विभागका अनुसार साउन महिनामा मात्रै २४ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

साउनमा १ सय २७ नयाँ उद्योग दर्ता भएका छन्। तीमध्ये ८१ अटोमेटिक रुट र ४६ अप्रुभल रुटमार्फत दर्ता भएका हुन्। अटोमेटिक रुटबाट दर्ता भएका उद्योगमा ७३ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने अप्रुभल रुटमार्फत दर्ता भएका उद्योगमा भने २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी आएको छ।

कृषि क्षेत्रमै सबैभन्दा ठूलो लगानी आकर्षित भएको छ। भैँसी मासु प्रशोधन उद्योग खोल्न मात्र २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत भएपछि यस महिनाको एफडीआई रकम उल्लेख्य रूपमा बढेको हो। यदि लगानी कार्यान्वयन भयो भने नेपालबाट ठूलो मात्रामा भैँसी मासु निर्यात हुने उद्योग विभागको अनुमान छ।

उद्योग दर्तासँगै साउनमा मात्र ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। कुल दर्ता भएका उद्योगमध्ये साना उद्योग १२५ र ठूला २ छन्। मझौला उद्योग भने दर्ता भएका छैनन्।

क्षेत्रगत विवरण हेर्दा, सूचना प्रविधि क्षेत्रमा ७१ र पर्यटन क्षेत्रमा ४१ उद्योग दर्ता भएका छन्। यसबाहेक सेवा, उत्पादन र ऊर्जामा समेत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।