काठमाडौं । सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ। उपभोक्ताबाट न्यूनतम ६० देखि अधिकतम ६०० रूपैयाँ शुल्क उठाउने तय भएको छ । नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्नेछ। त्यसैगरी मिनीबस र ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बस र ट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० रूपैयाँ शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ।
मोटरसाइकललगायत २ पांग्रे सवारी साधन भने सुरुङमार्गमा चलाउन पाइने छैन।
२०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा आउनेछ। २।६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो। १ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो।
आयोजनाका अनुसार, मुख्य सुरुङ, इभ्याकुएसन, वर्किङ अडिट, क्रस प्यासेज सबै पूरा भइसकेका छन् भने तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र एउटा फ्लाईओभरको काम पनि सकिएको छ। समग्र प्रगति ९२.१८ प्रतिशत सकिँदा ७.८२ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। जुन महिना सकिँदासम्म आयोजनाको वित्तीय प्रगति ८६.३४ प्रतिशत रहेको थियो।
प्रतिक्रिया