नेपाल पहिलो पटक अष्ट्रेलियाको टप एन्ड सिरिजमा खेल्दै, शुक्रबार पहिलो म्याच

नेपाल पहिलो पटक अष्ट्रेलियाको टप एन्ड सिरिजमा खेल्दै, शुक्रबार पहिलो म्याच

नेपाली राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियामा, यस्तो छ खेल तालिका



डार्विन, अष्ट्रेलिया ।
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी अष्ट्रेलियाको डार्विनमा आयोजना भइरहेको टप एन्ड टी २० सिरिजमा खेल्न डार्विन आइपुगेका छन् । सन् २०२२ बाट आयोजना गर्न सुरु गरिएको यो प्रतियोगितालाई अष्ट्रेलियाको बिग बास लिगको पूर्वतयारीको रुपमा हेर्ने गरिन्छ । प्रतियोगितामा नेपालसँगै ४ अन्तर्राष्ट्रिय टिमहरु छन् भने अष्ट्रेलियाभरका ७ वटा क्रिकेट क्लबहरु समावेश छन् । जसमा यसअघि सन्दिप लामिछानेले बिग बास लिगमा खेलेको टिम मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्स पनि समावेश छ । प्रतियोगिताले नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिनुका साथै आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ । रोहित पौडेलको कप्तानीमा अष्ट्रेलिया आइपुगेका खेलाडीहरुमा दिपेन्द्रसिंह ऐरी, आसीफ शेख, सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ सेख, भिम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, ललित राजवंशी रहेका छन् ।

📌 नेपालको खेल तालिका:
🗓 15 अगस्ट – NT Strikers (2:15 अपराह्न)
🗓 16 अगस्ट – Bangladesh ‘A’ (3:15 अपराह्न)
🗓 18 अगस्ट – Melbourne Stars (7:15 बिहान)
🗓 19 अगस्ट – Hobart Hurricanes (11:15 बिहान)
🗓 20 अगस्ट – Melbourne Renegades (11:15 बिहान)
🗓 22 अगस्ट – Pakistan Shaheens (3:15 अपराह्न)

“यो सिरिज T20 विश्वकप छनोटका लागि महत्वपूर्ण तयारी हो,” – पारस खड्का, CAN सचिव।


खेलाडीहरुलाई मंगलबार डार्विन विमानस्थलमा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं नर्दन टेरेटोरी संयोजक सञ्जीव गोर्खाली सहितको नेपालीहरुको टोलीले स्वागत गरेको थियो । विमानस्थलमा बोल्दै खेलाडीहरुले प्रतियोगितालाई लिएर आफुहरु उत्साही रहेको र नेपालीपनको स्वागतले अझ बढी ऊर्जा मिलेको बताएका थिए । खेलाडीहरुलाई खादा र नेपाली टोपी लगाएर स्वागत गरिएको थियो ।

नेपाली टोलीको सम्पूर्ण व्यवस्थापन नर्दन टेरेटोरी क्रिकेटले गर्दैछ । यस प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले आफ्नो व्यक्तिगत व्यवसायिक यात्रामा पनि नयाँ उपलब्धी हासिल गर्नसक्ने अपेक्षा छ । अष्ट्रेलियामा हुने बिग बास लिगका लागि यस वर्षको खेलाडी छनोट भइसके पनि प्रतिस्पर्धी टिमको आँखामा उनीहरुको खेल पर्ने र यसले आगामी दिनमा उनीहरु पनि यहाँको व्यवसायिक लिगमा खेल्ने ढोका खुल्ने अपेक्षा छ । अर्कोतिर आगामी टी २० विश्वकप छनोटका लागि तयारीको महत्वपूर्ण कदम हुनेमा दुईमत छैन ।

Featured photo by : Sabin Baral /Purakhabar