अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा


काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् । सभामुखको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय विशेष छानविन समिति बनाउने निर्णय गरेको थियो । अर्थमन्त्री शर्माले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरेका थिए । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’

आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए ।

उनले अघि भने, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’

राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।