मेलबर्न, अष्ट्रेलिया ।
२६ वर्षका जोशुआ ब्राउनलाई आठ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ७० भन्दा बढी अभियोग लगाइएको छ। यी बालबालिका पाँच महिना देखि दुई वर्ष उमेरका छन् र प्वाइन्ट कुकको एक चाइल्डकेयर सेन्टरमा काम गर्दा उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो। ब्राउनले २०१७ देखि २०२५ सम्म मेलबर्नका २० भन्दा बढी चाइल्डकेयर सेन्टरमा काम गरेका थिए।
उनको गिरफ्तारी मे २०२५ मा बाल यौन दुर्व्यवहार सामग्रीको खोजीपछि भएको हो। अधिकारकर्मीहरूले २,६०० परिवारलाई सम्पर्क गरी १,२०० बालबालिकालाई यौन संक्रमित रोग परीक्षण गराउन सिफारिस गरेका छन्। विद्यार्थीका अभिभावकहरुलाई पठाइएको मेसेजमा उनीहरुलाई गनोरिया लगायतका यौनजन्य रोगको संक्रमण छ वा छैन परीक्षण गर्न भनिएको छ । यद्यपि हालको अवस्थामा रोग सर्ने जोखिम कम रहेको बताइएको छ।
ब्राउनको परिवारको इतिहास पनि विवादास्पद छ। उनकी आमा ट्रेसी ब्राउन, जो एक जेल गार्ड हुन्, २०२० मा भेरोनिका नेल्सनको कारागारमा मृत्यु भएको घटनामा संलग्न भएकी थिइन्।
यो घटनाले अस्ट्रेलियामा बाल संरक्षण प्रोटोकलमा सुधारको आवश्यकता देखाएको छ। शिक्षा मन्त्री जेसन क्लेयरले चाइल्डकेयर सेन्टरहरूको निगरानी कडा पार्ने र यौन दुर्व्यवहारको तत्काल रिपोर्टिङको आवश्यकता औंल्याएका छन्। जी ८ एजुकेशन, ब्राउनको पूर्व रोजगारदाता, अनुसन्धानमा पूर्ण सहकार्य गर्ने र बाल सुरक्षामा प्रतिबद्धता जनाएको छ।
ब्राउनलाई सेप्टेम्बर १५ मा मेलबर्न म्याजिस्ट्रेट अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
प्रतिक्रिया