मेलबर्नको बहुसांस्कृतिक केन्द्रका लागि जुट्यो थप डेढ लाख डलर

मेलबर्नको बहुसांस्कृतिक केन्द्रका लागि जुट्यो थप डेढ लाख डलर


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले आयोजना गरेको फन्डरेजिंग डिनर कार्यक्रमबाट थप डेढ लाख डलर सहयोग जुटेको छ । शनिबार स्थानीय थनवरी थियटरमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ आयोजना गरिएको कार्यक्रममा २३ नयाँ सदस्यहरु पनि थपिएको जानकारी संस्थाका अध्यक्ष राजेश आचार्यले दिनुभएको छ ।

आचार्यका अनुसार यसअघि नै प्रतिबद्धता व्यक्त गरेका दाताहरुले रकम थप गरी २५ हजारको योगदान दिँदै संरक्षकका रुपमा सहयोग गर्नुभएको छ भने नयाँ सदस्यता लिने परिवारले प्रति परिवार १५ सय डलर शुल्क बुझाउनेछन् । मेलबर्नको डिगर्स रेष्टमा किनिएको चार कोठाको घर सहित ६ हेक्टर जग्गामा अब केही मर्मत गरी पूजा र ध्यान गर्न सकिने बनाउनका लागि आवश्यक रकम जुटाउन यो कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवससरमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको गुरुयोजना समेत सार्वजनिक गरिएको थियो । गुरुयोजनाको निर्माण पूर्वअध्यक्ष रञ्जन वैद्यसहित ५ जना ईन्जिनियरहरुको टोलीले गरिरहेको छ ।

कार्यक्रममा बहुसांस्कृतिक केन्द्रका पूर्वअध्यक्ष चन्द्रदिपक पोखरेल, संरक्षक शेष घले, संरक्षक चन्द्र योन्जन, भिक्टोरियाकी महिला तथा शिक्षामन्त्री नताली हचिन्स लगायतले बहुसांस्कृतिक केन्द्रको आवश्यकता र हालसम्म भएका कार्यका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपालको लोकप्रिय व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठले देशभक्तिपूर्ण गीतबाट उपस्थित दर्शकश्रोताहरुलाई मनोरञ्जन दिएका थिए । उनले कार्यक्रममा गायनवापत आफूले पाउने पारिश्रमिक केन्द्रलाई नै दिने घोषणा समेत गरे । यस्तै मेलबर्नका अन्य प्रतिभाहरुले पनि विभिन्न सांगीतिक प्रस्तुति दर्शकमाझ राखेका थिए ।

उक्त अवसरमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको विषयमा तयार पारिएको श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।