होबार्टमा पहिलो पटक नेपाली समुदायका लागि बास्केटबल प्रतियोगिता

होबार्टमा पहिलो पटक नेपाली समुदायका लागि बास्केटबल प्रतियोगिता


सोलमारी इभेन्ट्सको आयोजनामा यही आउँदो १४ जुन २०२५ होबार्टमा नेपाली समुदायलाई लक्षित गर्दै पहिलोपटक बास्केटबल प्रतियोगिता आयोजना गरिने भएको छ।प्रतियोगिता नेपाली डायस्पोराबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध सुदृढ बनाउने र सकारात्मक सहभागिता प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको हो। नेपाली समुदायले अघिल्ला वर्षहरूमा फुटबल, क्रिकेट, भलिबल जस्ता खेलहरूमा सक्रिय उपस्थिति जनाउँदै आएको भए पनि बास्केटबलजस्तो खेलमा यस्तो औपचारिक प्रतियोगिता पहिलोपटक आयोजना हुँदैछ।

सोलमारी इभेन्ट्सका निर्देशक संसार राज चिमोरियाका अनुसार, होबार्टमा बसोबास गर्ने नेपालीहरूमा बास्केटबलप्रतिको चासो बढ्दो देखिएकाले सबैलाई एउटै मञ्चमा ल्याउन प्रतियोगिताको सुरुवात गरिएको हो। प्रतियोगितामा पुरुष, महिला, सामाजिक तथा कर्पोरेट समूहहरूबीच प्रतिस्पर्धा हुने छ। विजेता टिमलाई एक हजार डलर नगद पुरस्कार प्रदान गरिनेछ। कार्यक्रमको प्रायोजक ब्राइटन कलेज रहेको छ । आयोजकले सम्पूर्ण नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भई खेलको मजा लिन र आफ्ना टिमहरूलाई साथ दिन अनुरोध गरेका छन्। खेलकुदले समुदायमा आपसी समझदारी, प्रेरणा र सहकार्यको भावना बलियो बनाउने विश्वास आयोजकको छ।

यो प्रतियोगिता नेपाली युवाहरूको सक्रियता अभिव्यक्त गर्ने माध्यम बन्ने अपेक्षा गरिएको छ।