काठमाडौँ । काठमाडौं महानगरले वायु गुणस्तर निगरानी ड्यासबोर्ड सार्वजनिक गर्यो, १८ स्थानको तथ्यांक वास्तविक समयमै हेर्न सकिने
विश्व वातावरण दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले वायु प्रदूषणको स्तर अनुगमन गर्न ‘काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ।
महानगरभित्र जडान गरिएका १८ स्थानका वायु प्रदूषण मापन यन्त्रहरूबाट संकलित डेटा अब ड्यासबोर्डमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको हो। यस ड्यासबोर्डबाट PM2.5 (पिएम दुई दशमलव पाँच) र वायु गुणस्तर सूचकांक (AQI) को विवरण वास्तविक समयमा उपलब्ध हुन्छ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सीता राईका अनुसार, “ड्यासबोर्डमार्फत अहिले कुन स्थानमा वायुको गुणस्तर कस्तो छ भन्ने तत्काल थाहा पाइन्छ। यो कामपाले स्वास्थ्य सहर निर्माणका लागि चालेको महत्त्वपूर्ण कदम हो।”
रङ संकेत प्रणालीबाट वायुको अवस्था चिनिन्छ
ड्यासबोर्डमा वायु गुणस्तरको अवस्था संकेत गर्न विभिन्न छ वटा रङ प्रयोग गरिएको छ:
• हरियो: राम्रो अवस्था
• पहेँलो: मध्यम
• सुन्तला: संवेदनशील समूह (बालबालिका, ज्येष्ठ नागरिक, फोक्सो वा मुटुका समस्या भएका) का लागि सचेत रहनुपर्ने अवस्था
• रातो: सबैका लागि अस्वस्थ्य अवस्था
• वैजनी: सबै व्यक्तिका लागि गम्भीर असर पुर्याउन सक्ने अवस्था
• गाढा खैरो: सबैका लागि उच्च जोखिमयुक्त, विशेषगरी पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरूका लागि झनै खतरनाक
यस प्रणालीले नागरिकलाई समयमै जानकारी दिने र सतर्क बनाउने लक्ष्य राखेको छ। वातावरणीय निगरानीका लागि प्रविधिको प्रयोग गर्दै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया