काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ ।
कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन । नगरपालिकाको ८० लाख लागतमा निर्माण भएको घण्टाघरलाई साँचो लगाएर राखिएको छ । बाहिरी संरचना जीर्ण बन्न थालेको छ ।
स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो । कुश्मा –५ का वडाध्यक्ष रामहरि चापागाईंले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताए । दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उनको भनाइ छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिए । उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएइन् । घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए ।
प्रतिक्रिया