शेर्पा पावर : कामीरिता शेर्पाले तोडे आफ्नै ३० पटक आरोहणको रेकर्ड

शेर्पा पावर : कामीरिता शेर्पाले तोडे आफ्नै ३० पटक आरोहणको रेकर्ड



काठमाडौँ — नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो ।

गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि यतिबेला धेरैले बधाई दिइरहेका छन् । कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । उनी भोली बिहानसम्म ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरसम्म फर्किने छन् । त्यहाँबाट हेलिकोप्टर उडानबाट काठमाडौं फर्किने तालिका छ ।

दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।