भिसा प्रक्रियामा संलग्न अधिकांश अध्यागमन कर्मचारीहरू र मन्त्रालयका समन्वयकबीच असुली रकम बाँडफाँड हुने गरेको प्रमाण भेटिएको स्रोतको दाबी छ। भिजिट भिसामा विदेश जाने युवाबाट असुल गरिने रकम अध्यागमनका अधिकांश कर्मचारीदेखि मन्त्रालयसम्म बाँडफाँड हुने गरेको तथ्य फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानका क्रममा यो लेनदेनमा ‘कर्मचारीको ठूलो समूह नै संलग्न’ हुनसक्ने आधारहरू फेला परेको जाँचमा संलग्न एक अधिकारी बताउँछन् । ‘हालसम्म फेला परेका प्रमाण र औपचारिक/अनौपचारिक सूचनाले भिजिट भिसाका नाममा हुने ठगीमा कर्मचारीको संगठित समूह नै संलग्न हुनसक्ने देखिएको छ’, उनले भने, ‘प्राविधिक कारणले कतिपय तथ्यहरू फेला पार्न निकै कठिन हुने स्थिति छ, यद्यपि अनुसन्धान गहिराइमा पुगे गृह प्रशासनका कर्मचारीहरू संलग्न हालसम्मकै ठूलो भ्रष्टाचारमध्ये यो एउटा बन्नेछ ।’ आयोगका अधिकारीहरूका अनुसार, विमानस्थलमा खटिएका कर्मचारीको असुलीमा सामूहिक संलग्नताबारे पहिले पनि चर्चा हुने गथ्र्यो । मन्त्रालयमा कतिपय अधिकृतलाई पुरस्कृत गर्नुपरे ‘केही समय अध्यागमन बसेर आउनू’ भन्ने स्थिति समेत विगतमा रहेको स्रोत बताउँछ ।
प्रतिक्रिया