काठमाडौँ ।प्रदेश सरकारले चालु आर्थिक वर्ष चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १० महिनासम्ममा एक अर्ब ५६ करोड ६ लाख ११ हजार ८५२ रुपैयाँ सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशको आन्तरिक स्रोतमा उल्लेख भएका विभिन्न शीर्षकमध्ये तोकिएको लक्ष्यको ५० प्रतिशतसम्म पनि कुनै शीर्षकमा असुल हुन सकेको छैन । कुनै–कुनै शीर्षकमा लक्ष्यको १ प्रतिशत पनि सङ्कलन भएको छैन प्रदेश सरकारले कृषिमा लाग्ने आय करमा लक्ष्यको जम्मा शून्य दशमलव ८ प्रतिशत सङ्कलन गरेको छ । कृषि उत्पादन विक्री करमा लक्ष्यको २८.९१ प्रतिशत सङ्कलन भएको छ । नहर तथा कुलो उपभोक्ता बापतको शुल्क शीर्षकमा लक्ष्यको १३.९२ प्रतिशत राजस्व उठेको छ । शिक्षा क्षेत्रको आम्दानी शीर्षकमा लक्ष्यको ९.६४ प्रतिशत, परीक्षा शुल्कमा लक्ष्यको १०.१६ प्रतिशत र यातायात क्षेत्रको आम्दानी शीर्षकमा लक्ष्यको ४७.५ प्रतिशत सङ्कलन भएको छ । यस्तै रेडियो एफएम सञ्चालन दस्तुरमा चालु आर्थिक वर्षको १० महिनासम्म कुनै पनि रकम सङ्कलन भएको छैन । टेलिभिजन सञ्चालन दस्तुरमा भने लक्ष्यको १८.६९ प्रतिशत सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको जनाएको छ ।
प्रतिक्रिया