काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी गत संसदीय निर्वाचनमा चितवनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारसँग पराजित बनेका थिए ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग सञ्चारमन्त्रीले भने ,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा। विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”
सिफारिस समितिले डा। विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा। दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा। पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।
यसअघि गभर्नर सिफारिश समितिमा रहेकै व्यक्तिहरुले पनि राजीनामा दिँदै आफुलाई गभर्नरको रेसमा उभ्याएका थिए । गभर्नरको पदावधि सकिनु एक महिना अघि नै सिफारिश गरिनुपर्नेमा नयाँ गभर्नरको नाम दिन ढिलाई भएपछि गठबन्धनमै पनि समस्या आउने हो कि भन्ने देखिएको थियो । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाली काँग्रेसले सिफारिश गरेको व्यक्तिलाई गभर्नर बनाउने सहमति भएको थियो । यही सहमति बमोजिम गुणाकर भट्टलाई राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा गर्न लगाईएको थियो । कायमुकायम गभर्नर निलम ढुंगानाले उनको राजीनामा रोकिदिएपछि परिस्थिति जटिल मोडमा पुगेको थियो ।

प्रतिक्रिया