काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनायो । समूह चरणबाट भाग्यमानी साबित भएर अगाडि बढेको नेपालले त्यसलाई पूर्णरूपमा न्याय दिँदै यूएईलाई महत्वपूर्ण खेलमा हराएर विश्वकप यात्रामा एक ठुलो फड्को मार्दै ग्लोबल छनोटमा पुग्यो । यसअघि एसिया छनोटभन्दा अगाडि बढ्न नसेकको नेपाली टोलीले यसपटक भने चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई नै पाखा लगाउँदै ऐतिहासिक सफलता हात पारेको हो । नेपालको अब ग्लोबल छनोटमा थप स्तरीय टिमहरूसँग भेट हुने पक्का छ । त्यसका लागि टोलीले अझै मेहेनत र लगनशीलताका साथ प्रदर्शनमा सुधार गर्दै जानुपर्ने कुरा त अवश्य नै छ । हालका लागि भने नेपालले वर्षाले प्रभाव पारिरहेको प्रतियोगितामा भाग्यको साथ पनि पाउँदा त्यसमा मेहेनतको रंग पनि भर्यो र पहिलोपटक एसिया छनोट पार गर्ने सपनालाई साकार गरेको छ । नेपाली महिला क्रिकेटमा सुरुवातदेखि नै देखिँदै आएको एउटा सपना हो- विश्वकप खेल्नु । त्यसका लागि सुरुवाती समयमा सम्बन्धित निकाय तथा राज्यबाट त्यति साथ नपाउँदा पनि महिला क्रिकेटले आशा भने देखाइरहेको अवस्था थियो । सन् २००७ देखि सुरु भएको नेपाली महिला क्रिकेटको उमेर समूहमा विश्वकपको ढोका यसअघि नै खुलिसकेको थियो जब यू-१९ टोलीले २०२५ को सुरुवातमै विश्वकप खेलेको थियो, जसको नेतृत्व गरेकी थिइन् पुजा महतोले । पुजा हाल सिनियर टिमकी उपकप्तान हुन् ।
प्रतिक्रिया