काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टीभित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउन कडा कदम चाल्नुपरेको बताएका छन्। शनिबार बल्खुमा मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकीकरणबाट नेकपा बनेपछि पार्टीभित्रकै नेताहरू विभाजन गर्न लागेको आरोप लगाए। २०७४–०७५ मा पार्टीलाई सर्वाधिक मजबुत बनाए पनि केही स्वार्थी तत्वहरूबाट बचाउन नसकिएको उनले बताए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ओलीले अरूकै लागि काम गरेर पार्टीभित्र अन्तरविरोध पैदा गर्ने काम गरेको आरोप लगाए। दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने तर संसदमा अन्य तत्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको उनले टिप्पणी गरे। एकीकरणको मनसायले एकता गरे पनि एकता गर्न आउनेहरूको मनसाय एमालेलाई ध्वस्त पार्नु रहेको उनको भनाइ थियो। तीन वर्षअघि जहाँबाट निकालिएको थियो, अहिले आफू त्यहीँ स्थानमा रहेको ओलीले बताए। प्रधानमन्त्री ओलीले भने, ‘२०७४–०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौं। थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाइ हुन। त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पुर्यायौं। वामपन्थी आन्दोलनलाई पुर्यायौं। तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्वहरू छट्पटाए। अन्य शक्तिहरू बाह्य शक्तिहरू पनि छट्पटाए। उनीहरूले यिनलाई उचाल्न थाले। र पार्टीभित्रका केही तत्वहरू पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए। हामी विकासको लागि अगाडि बढ्न थाल्यौं। तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरू त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविरोध पैदा गर्ने काम भयो। अन्तिममा कहिले अदालत गुहारेर, कहिले के गरेर, पार्टी भित्रका समस्या पार्टीभित्र होइन बाहिर चल्ने। दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरू विभिन्न प्रकारका तत्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रूपमा केही कडा कदम चाल्नुपर्यो। वास्तवमै पार्टी उनीहरूले हामीले एकीकरणका मनशायले एकीकरण गर्यौं। उनीहरूले गलत ढंगले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनशायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरू चाल्नुपर्यो। आज हैसियतका साथ छौं। तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौं। सहज परिस्थिति थिएन।’
प्रतिक्रिया