हुँदैछ सगरमाथाको आधार शिविर सार्ने तयारी, मानवीय गतिविधि प्रमुख कारण

हुँदैछ सगरमाथाको आधार शिविर सार्ने तयारी, मानवीय गतिविधि प्रमुख कारण


काठमाडौँ । जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।

पर्यटन विभागका निर्देशक सूूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ । खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई सुझाएको छ ।

समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ ।
विभागका अनुसार यस वर्षको वसन्त ऋतुुमा मात्रै छ सयभन्दा बढीले हिमाल आरोहण गरेका छन् । आरोहणको मौसममा दैनिक दर्जनाँै हेलिकप्टरले आधार शिविरमा ओहोरदोहर गर्दै आएका छन् । आरोहण खुलेयता भरिया, पथ प्रदर्शक, आरोही, सम्पर्क अधिकृत, सुरक्षाकर्मीसहित सयाँै व्यक्ति आधार शिविरमा पुग्ने गरेका छन् । कतिपय आरोही आरोहण सकिउन्जेलसम्म आधार शिविरमै बस्नुपर्ने भएकाले फोहोरसमेत बढ्दै गएको विभागको भनाइ छ ।

आरोहण सहजीकरणका लागि खुम्बुमा खटिएका सम्पर्क अधिकृत खेमलाल गौतमका अनुसार पर्वतीय पर्यटनलाई सुरक्षित राख्न र आरोहण क्षेत्रमा देखिएको आकर्षणलाई बचाई राख्न सुरक्षित बेस क्याम्पको अवधारणा अघिसारिएको हो ।

गौतमले आधार शिविरमा केही वर्ष पहिलेसम्म हिउँको डल्लो तताएर पानीको व्यवस्था गरिँदै आएकोमा अहिले खुम्बु नदीको पानीको प्रयोग हुनेगरेको छ । जसलाई जलवायु परिवर्तनको मुख्य उदाहरणका रूपमा लिन सकिन्छ ।

आधार शिविरमा खाना पकाउन तथा तातोका लागि ठूलो मात्रामा मट्टीतेल एवं ग्यास प्रयोग गर्दासमेत हिमनदीको हिउँमा असर परेको उहाँको अनुभव छ । अहिले दैनिक कम्तीमा १४ किलो एलपी ग्यास खाना पकाउन बेसक्याम्पमा प्रयोग हुँदै आएको छ ।

त्यस्तै आरोहणका क्रममा बढ्दो मानवीय चापले आधार शिविरमा एक दिनमा झन्डै चार हजार लिटर पिसाब फेर्छन् । दिसा गर्न केही व्यवस्थापन भए पनि पिसाब भने खुला रूपमा नै हुने गरेको छ । दिसाका ड्रमहरू सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिड्रम ३७५ रुपियाँमा आधार शिविरभन्दा पाँच किलोमिटर तल दक्षिणमा रहेको लुबुचे भन्ने ठाउँमा विर्सजन गर्दै आएको छ । यस पटकको आरोहणमा मात्रै त्यस्ता १५० ड्रम प्रयोगमा आएका थिए ।