काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेस हुँदै अब पहाडी भूगोलमा आफ्नो राजनीतिक अभियान विस्तार गर्दै ‘मध्यपहाडी लोकमार्ग अभियान’ बैतडीबाट सुरु गरेको छ। जेठ २ गतेदेखि प्रारम्भ भएको यो अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गरिरहेका छन्।
बैतडीको पाटनबाट प्रारम्भ भएको अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधबार नै धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्। यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने तयारी थालेको हो।
पार्टीले यस अभियानलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको बताइएको छ। पार्टी स्रोतका अनुसार अभियानको क्रममा विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफलहरू गरिनेछ।
तराई अभियानमार्फत मधेसमा जनजागरण अभियान चलाएको माओवादी केन्द्रले अब पहाडी भेगमा पनि जनतामाझ पुगेर आगामी राजनीतिक र विकास योजनालाई जोड दिन खोजेको देखिन्छ। यो अभियान सुदूरपश्चिम हुँदै अन्य पहाडी जिल्लामा विस्तार हुँदै जाने पार्टीले जनाएको छ।
प्रतिक्रिया