न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’

न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’


काठमाडौँ । ‘डियर सवि जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ता–भित्तामा तिम्रो नाम होस् ।’ गत असारमा सडक डिभिजन काठमाडौँले सडक विभागअन्तर्गतका सडक छेउमा रहेका बिजुलीका पोलमा सवि (सडक विभाग) लेखेपछि काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ले यो स्ट्याटस लेखेका थिए । त्यसअघि बालेन र विभागबिच न्यूरोडमा सडक मर्मतको सन्दर्भमा ठुलो विवाद भएको थियो । गत जेठमा काठमाडौँ महानगरले विभाग मातहतको न्यूरोडमा फुटपाथ फराकिलो बनाई सडक खुम्च्याउने प्रयास गरेको थियो । जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकसम्मको फुटपाथ विस्तार थालेको थियो । अनुमति बिना फुटपाथ बढाउन खोजेको भन्दै डिभिजन काठमाडौँले हस्तक्षेप गर्‍यो । साथै भत्काएको सडक जस्ताको तस्तै बनाउन महानगरलाई पत्र पठाएको थियो । महानगरले पत्रको बेवास्ता गरेपछि डिभिजनले जेठ २१ गते कालोपत्रे गरिदियो । जसको प्रतिवादमा महानगरका मेयर शाहले विभाग परिसरमा सडकको माटो थुपारिदिएका थिए । त्यसैबेला उनले फेसबुकमा स्ट्याटस पोस्ट्याए । ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू! तपाईँको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ । काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ ।’ चक्रपथ दोस्रो खण्ड १५ वर्षअघि भत्काएर विस्तार कार्य नगर्दा धुलो र हिलोका काठमाडौँ बासीले सास्ती पाएको उनको भनाइ थियो ।