अष्ट्रेलियाको मेलबर्नमा मृत भेटिएका समिरको शव पठाउन जुट्यो १८ हजार डलर सहयोग

अष्ट्रेलियाको मेलबर्नमा मृत भेटिएका समिरको शव पठाउन जुट्यो १८ हजार डलर सहयोग


मेलबर्न, अष्ट्रेलिया ।

गत ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका चितवनका समिर कोइराला आफ्नै कोठामा मृत भेटिएपछि थालिएको सहयोग संकलन अभियानमा १८ हजार डलरभन्दा बढी सहयोग जुटेको छ । एकैदिनमा यो सहयोग जुटेको हो । कोइराला मेलबर्नको कोबर्गमा बसोबास गर्दै आएका थिए भने उनी १५ तारिख आफ्नै कोठामा मृत फेला परेका थिए । प्रहरीले घटना सन्देहास्पद नरहेको जनाएको छ ।

नेपाली विद्यार्थी कोइरालाको शवलाई नेपाल पठाउन गैरआवासीय नेपाली संघको विद्यार्थी सल्लाहकार परिषद्ले थालेको सहयोग संकलन जारी छ । १५ हजार अष्ट्रेलियन डलर सहयोग जुटाउने लक्ष्य राखिएको भएपनि यो समाचार तयार पार्दासम्म १८ हजार डलरभन्दा बढी सहयोग संकलन भएको छ । यसैगरी परिवारको तर्फबाट पनि आफन्तकै नाममा अर्को सहयोग संकलन गरिएकोमा त्यसमा कति जुट्यो भयो भन्ने विवरण आइसकेको छैन ।

शवलाई नेपाल पठाउन र नेपालमा रहेको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरिएको एनआरएनको विद्यार्थी सल्लाहकार परिषद्का सचिव सिद श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले अब गोफन्डमा थालिएको सहयोग संकलन बन्द गरेका छौं । १८ हजारभन्दा बढी उठेको छ । अब एनआरएनको तर्फबाट सोसियल वेलफेयर फन्डमार्फत २ हजार डलर पनि त्यसमा थपेर हामी उनको शव नेपाल पठाउने काममा खर्च गर्छौं । बाँकी रहेको सबै भाईको परिवारलाई हस्तान्तरण गर्नेछौं । उनको शव अस्पतालबाट प्राप्त भएपछि यो प्रक्रिया यसै साताभित्र सकिन्छ होला ।”

निधन भएका विद्यार्थी समिर नेपालबाट अष्ट्रेलिया आउपछि देखि नै छुट्टै बस्ने, कुराकानी पनि कम गर्ने गरेको उनका निकटस्थहरुले बताएका छन् । नेपालमा पनि त्यस्तै व्यवहार देखिएर पढाउनका लािग अष्ट्रेलिया पठाएको र यहाँ पनि स्थिति खासै सुधार नभएको पाइएको हो । उनलाई मनोपरामर्श दिलाउनका लागि यसअघि नै पहल भएपनि उनले यस्तो परामर्श लिन भने बारम्बार छुटाउँदै आइरहेका थिए ।