भारत र पाकिस्तान युद्ध मैदानमा, सीमा क्षेत्रका बासिन्दामा त्रास

भारत र पाकिस्तान युद्ध मैदानमा, सीमा क्षेत्रका बासिन्दामा त्रास


मंगलवार राति शुरू गरिएको ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीअन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा ‘आतंकवादी पूर्वाधार’ मा मिसाइल हमला गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही राति १:०५ देखि १:३० सम्म २५ मिनेटसम्म चलेको थियो । पाकिस्तानी सेनाकी कर्नेल सोफिया कुरैशीले यो हमला सन् १९७१ को भारत/पाकिस्तान युद्धपछि पाकिस्तानको भूभागमा भारतको सबैभन्दा गहिरो हमला भएको बताइन् ।

हमलाले बहावलपुर, मुरिद्के र पाकिस्तान नियन्त्रित कश्मीरको कोटली र मुझफ्फराबादस्थित आतंकवादी शिविरहरूलाई निशाना बनाएको भारतले दाबी गरेको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले पहलगाम हमलापछि आतंकवादी पूर्वाधारविरुद्ध कुनै कदम नचालेको आरोप लगाएका छन् ।

उनले भारतले गरेको यो कारबाही ‘खुफिया जानकारी’का आधारमा सटीक भएको दाबी गरेका छन् । भारतीय दूतावासले पनि कुनै नागरिक, आर्थिक वा सैन्य ठाउँलाई निशाना नबनाइएको र केवल आतंकवादी शिविरहरूमा हमला भएको जनाएको छ ।
पाकिस्तानले भारतको हमलालाई ‘युद्धको कार्य’ भन्दै कडा जवाफ दिएको छ । पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ हमलामार्फत छ स्थानलाई निशाना बनाएको, बालबालिकासहित आठ जना मारिएको र ३५ जना घाइते भएको बताए ।

अहमदपुर ईस्टमा पाँच, मुरिद्केमा एक र कोटलीमा दुई जनाको मृत्यु भएको उनले जनाए । मुझफ्फराबाद नजिकैको मस्जिदमा भएको क्षति र त्यहाँबाट शव निकालिएको तस्बिरले पाकिस्तानमा आक्रोश बढाएको छ ।

पाकिस्तानले पाँच भारतीय लडाकु विमान ९तीन राफाल, एक मिग-२९ र एक सु-३०० र एक ड्रोन खसालेको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । यदि पाकिस्तानको दाबी सत्य ठहरियो भने यो भारतका लागि ठूलो रणनीतिक नोक्सानी हुनेछ ।

भारतले पाकिस्तानमाथि हमला गरेलगत्तै पाकिस्तानी सेनाले नियन्त्रण रेखामा जवाफी गोलीबारी र तोपखाना हमला शुरू गरेको छ । रोयटर्सका अनुसार उक्त हमलामा भारत नियन्त्रित कश्मीरमा सात नागरिकको मृत्यु र ३५ जना घाइते भएका छन् । भारतीय सेनाले जम्मा तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

यता पाकिस्तानले गोलीबारी शुरू गरेपछि भारत नियन्त्रित कश्मीरका बासिन्दा पनि त्रसित छन् । कुपवाडा र उरूसाका बासिन्दा रातभर तीव्र गोलीबारीका कारण सुत्न सकेनन् भने केहीले सुरक्षित स्थानमा शरण लिएका छन् ।