विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका राष्ट्रहरूसँग व्यापार विवाद चर्काउँदै गर्दा विदेशमा बनेका फिल्ममा पनि १०० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । अमेरिकी फिल्म उद्योग ‘मृत्युतर्फ तीव्ररुपमा उन्मुख’ भैरहेको बताउँदै ट्रम्पले आफूले अमेरिकी वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई कर लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिन लागेको बताए । उनले यसमा फिल्म निर्माता र स्टुडियोहरूलाई आकर्षित गर्न प्रोत्साहन प्रदान गर्ने अन्य देशहरूको ‘एकत्रित प्रयास’लाई दोष दिए, जसलाई उनले ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भनेर वर्णन गरे । ‘यो भनेको, अरू सबै कुराको अतिरिक्त, सन्देश प्रचार र प्रपोगान्डा हो !’ ट्रम्पले आफ्नो सामाजिक संजाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा भने, ‘हामी फेरि अमेरिकामा बनेका फिल्महरू चाहन्छौं !’ अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पको पछिल्लो घोषणाको जवाफ दिँदै भने, ‘हामी यसमा लागिरहेका छौं ।’ तर यो कदमको विवरण स्पष्ट छैन । ट्रम्पको विज्ञप्तिमा विदेशमा फिल्म निर्माण गर्ने अमेरिकी निर्माण कम्पनीहरूमा यो शुल्क लागू हुन्छ कि हुँदैन भन्ने कुरा उल्लेख गरिएको छैन । अमेरिकी स्टुडियोद्वारा निर्मित हालैका धेरै चर्चित फिल्महरू अमेरिका बाहिर छायांकन गरिएका छन्, जसमा ‘डेडपूल एन्ड वुल्भरिन’, ‘विक्ड’ र ‘ग्लेडिएटर २’जस्ता फिल्म समावेश छन् ।