लेबर पार्टीको ऐतिहासिक जीतमार्फत अष्ट्रेलियाका जनताले दिएको सन्देश !

लेबर पार्टीको ऐतिहासिक जीतमार्फत अष्ट्रेलियाका जनताले दिएको सन्देश !


एन्थोनी एल्बानिजी तीन वर्ष अघि प्रधानमन्त्री हुँदै गर्दा पार्टीभित्र र बाहिर उनलाई चमत्कारिक नेता भन्दा पनि संयोजनकारी नेतृत्वका रुपमा धेरैले हेरेका थिए । तनि वर्षमा परिस्थिति यसरी फेरियो कि उनी केभिन रुड र बब हककै जस्तो चमत्कारिक, ऐतिहासिक जीत पार्टीलाई दिलाउने नेताका रुपमा स्थापित भएका छन् । आंकलन गरिएको जस्तो हंग पार्लियामेन्ट बन्ने अनुमानहरुलाई गलत सावित गर्दै उनले पूर्ण बहुमतको सरकार गठन गर्ने बाटोमा पार्टीलाई लग्ने सफलता पाएका छन् ।

यस पटकको लेबर पार्टीको चुनावी नतिजाले तत्कालका लागि जीत मात्र दिलएको छैन विपक्षी खेमाभित्र भविष्यको नेताको समेत कमी हुनेगरी उनीहरुलाई संसदको ढोकाभित्र नै पस्न पनि बन्देज लगाएर लेबरको बाटो सहज बनाइदिएका छन् ।
पक्कै पनि एन्थोनी एल्बानिजीका सामू महँगी, अन्तर्राष्ट्रिय व्यापारको चुनौती, व्याजदरको दबाब, अष्ट्रेलियन युवाहरुको लागि आवास संकट र अध्यागमन नीतिसँगै अमेरिकामा आएको परिवर्तनले यहाँका केही पक्षलाई उत्साहित तुल्याए त्यस्तै नेतृत्वको खोजी लगायतका विषय चुनौतीको रुपमा उभिएका थिए । तर, यी सबैमध्ये सबैभन्दा ठूलो पहाडको रुपमा महँगी नै सामुन्ने थियो । विपक्षीले यसलाई सबैभन्दा जोडदार रुपमा उठाएको पनि हो । तर, ऊसँग पनि कुनै उपाय भने थिएन । उसले उपाय देखाउन या सुझाउन सकेको थिएन । बरु, परमाणु ऊर्जाको उत्पादन गर्ने उसको घोषणाले उल्टै खर्च बढाउने अनि मूल्यबृद्धिलाई आकास खुवाउने हो कि भन्ने चिन्ताका कारण लिबरलले जनसमर्थन पाउन सकेन ।

पिटर डट्टन पक्कै पनि २४ वर्षदेखिका जनप्रतिनिधि थिए । यसको अर्थ उनले बुझेका थिए जनता के चाहन्छन् । तर, उनले अष्ट्रेलियन मूल्य र मान्यतालाई परिवर्तन गर्न खोजे । अष्ट्रेलियनहरु अतिवादमा विश्वास गर्दैनन् । हरेक विकास र परिवर्तनको आफ्नै गति हुन्छ भन्ने ठान्छन् । अझ अहिलेको बदलिँदो तिव्रगतिको विश्वमा पनि विस्तारै, विश्वस्त भएर, भरोसाका साथ मात्र अघि बढ्नुपर्छ भन्ने ठान्छन् । विश्वमञ्चमा युद्धका कारण विभाजित भएको बेलामा पनि अष्ट्रेलियनहरु बन्धुत्व र मानवतालाई सर्वोपरि मान्दछन् ।
लेबरको यस पटकको विजयले स्वतन्त्र र साना पार्टीहरुको बढ्दो बेगलाई पनि ब्रेक लगाइदिएको छ । अनुमान गरिएको जस्तै हंग पार्लियामेन्ट बनेको भए देश अर्को तीन वर्षका लागि बन्धकै बन्ने कुरामा दुईमत थिएन । साना दलहरुको एजेन्डा लागू गर्नुपर्ने बाध्यात्मक परिस्थिति अनि आफ्ना एजेन्डाको कार्यान्वयनको चटारोकाबीच नयाँ निर्णयहरु हुनसक्ने अवस्थाले संसदलाई बन्धक बनाउने पक्का थियो ।

अब भविष्यको बाटो लेबरका लागि कठीन छैनन् । तर, कठीन समयमा उत्तम नतिजा निकाल्नेहरु सहज बाटोमा भने अल्झिएर लड्ने गर्छन् भन्ने भनाईलाई राम्रोसँग मनन नगर्ने हो भने यो कार्यकाल लेबरको लागि सहज होला तर अर्को चुनाव भने असहज बन्ने पक्का छ । किनकि अष्ट्रेलियनहरुले दुई कार्यकाल साथ दिइसकेपछि अर्को पार्टीलाई रेड कार्पेट विछ्याउने पम्परा जस्तै छ । सही निर्णय, जनताको पक्षमा उभिएर दिने सेवाले यो भनाईलाई परिवर्तन गराउन सक्नेछ । के एन्थोनी एल्बानिजीको नेतृत्वले यो भावलाई न्याय गर्न सक्ला ?