काठमाडौं । सिङ्गापुरमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री लरेन्स वङ नेतृत्वको पीपुल्स एक्सन पार्टीले शनिबार स्पष्ट बहुमतका साथ विजय हासिल गरेको छ। पार्टीले ९७ मध्ये ८७ संसदीय सिटहरू जितेको छ। विजयपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री वङले भने, ‘हामीलाई जनताको बलियो समर्थन प्राप्त भएकोमा आभारी छौँ। तपाईंहरूको भरोसाको सम्मान गर्न हामी अझ कडा मेहनत गर्नेछौँ।‘ सिंगापुरमा सन् १९६५ देखि पीपुल्स एक्सन पार्टी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुँदै आएको छ । केही साना दलहरू पनि प्रतिस्पर्धामा रहे पनि उनीहरूको उपस्थिति नगन्य रहेको छ । पीपुल्स एक्सन पार्टी सन् १९६५ देखि सत्तामा छ । निर्वाचन विभागका अनुसार झण्डै २६ लाख सिङ्गापुरवासीले देशभरका १२४० मतदान केन्द्रहरूमा गएर ९२ सिटका लागि मतदान गरे। सिङ्गापुरको संसद दुई प्रकारका निर्वाचन क्षेत्रहरूमा बाँडिएको हुन्छ- सिंगल मेम्बर कन्स्टिचुएन्सी (एसएमसी) र ग्रुप रिप्रिजेन्टेसन कन्स्टिचुएन्सी (जीआरसी) । जीआरसीमा ४-५ जनाको समूह उम्मेदवार हुनेगर्छन् जसमा अनिवार्य रूपमा कम्तीमा एक अल्पसंख्यक समुदाय (मलाय वा अन्य) को प्रतिनिधित्व हुनैपर्छ। यसपटक एक जीआरसी सिटमा पीपुल्स एक्सन पार्टी निर्विरोध विजयी भएको छ। सन् १९४८ को पहिलो आम निर्वाचनपछि यो सिङ्गापुरको १९औँ चुनाव हो भने सन् १९६५ मा स्वतन्त्रता प्राप्त गरेपछि यो १४औँ आम चुनाव हो।
लरेन्स वङले गत वर्ष मे महिनामा लि सिएन लुङले करिब २० वर्षपछि प्रधानमन्त्री पद छाडेपछि पदभार सम्हालेका थिए।
प्रतिक्रिया