भरतपुरका चार सय युवालाई सीपमूलक तालिम

भरतपुरका चार सय युवालाई सीपमूलक तालिम


भरतपुरका १८ वर्षदेखि ४० वर्षमुनिका चार सय युवालाई लक्षित गरी सीपमूलक तालिम सुरू भएको छ । तालिमको उद्घाटन गदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित रहेको बताइन् । महानगरपालिकाले विगतका वर्षहरु पनि वडागतरुपमा चार हजार बढीलाई तालिम प्रदान गरिएको पनि उल्लेख गरिन् । प्रमुख दाहालले अबको केही दिनमा मागमा आधारित एक हजार सात सय युवालाई विभिन्न किसिमका तालिम दिन लागेको जानकारी दिइन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले देशका युवाहरुलाई सीपमूलक तालिम दिई वैदेशिक रोजगारमा जाने संख्यालाई न्यूनीकरण गर्न सकिने बताए । उनले तीन महिनासम्म हुने तालिममा सक्रियरुपमा सहभागी भई दक्ष नागरिकको प्रमाणपत्र लिन सफल हुनसमेत सहभागीहरुलाई शुभकामना दिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले राज्यले नागरिकलाई स्वावलम्बी बनाउन तालिमहरु दिँदै आइरहेको र यसको राम्रोसँग सदुपयोग गर्न आग्रह गरे । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षणसहित तालिम तीन महिना अर्थात ३९० घन्टा सञ्चालन हुनेछ ।

सीपमूलक तालिमअन्र्तगत कम्प्युटर मर्मत, मोबाइल मर्मत, कुक, वेटर, ब्यूटीसियन, गार्मेन्ट, मेसिन अपरेटर, फेसन डिजाइनर, प्लम्बर, केयर गिभर र हाउस किपिङ गरी १० प्रकारका तालिम दिन लागिएको रोजगार शाखाका प्रमुख सन्देश वाग्लेले जानकारी दिए । सिटिइभिटीबाट सम्बन्ध प्राप्त नेपाल उद्यमी विकास परामर्श केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय, वल्र्ड लिङ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, नवरत्न टेनिकल ट्रेनिङ इन्स्टिच्युट, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर, सिमेगा ह्युमन एकेडमी, एसियन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले तालिमको सहजीकरण गर्नेछन् ।