काठमाडौं –आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता पूर्ण रुपमा निश्कर्षमा नपुगेपछि आज पनि शिक्षक आन्दोलन जारी रहने भएको छ । यद्दपी आज पुनः छलफल गरेर सहमतिमा पुगिने विश्वास लिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको र त्यसमा आज थप छलफल गरेर टुंग्याइने मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । वार्ता सहमति नजिक पुगेको नेपाल शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले जानकारी दिए । उनले आफुहरूले राखेको ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा आन्दोलनको स्वरुप फेर्ने बताए । थापाका अनुसार अहिले बिहानै महासंघ आन्तरिक छलफलमा जुटेको छ । रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय हुने थापाले जानकारी दिए । आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघले जनाएको छ । आज पनि बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलन शुरु हुनेछ । सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहेको भन्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संवादमा हुनेहरू डटेर माग मुद्दामा लडिरहेकोले शिक्षकहरूलाई आन्दोलनलाई मर्यादित र अनुशासित गराउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया