काम थाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले

काम थाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले काम सुरु गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा आफ्नो पहिलो लक्ष्य नेपाललाई विश्वकपमा पुर्याउनु रहेको बताएका छन्।

मुलपानी क्रिकेट मैदानमा कोर क्याम्पको खेलअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पहिलो लक्ष्य सन् २०२६ मा हुने टी(२० विश्वकपमा नेपाललाई पुर्याउनु भएको बताए। सोही क्रममा उनले आफू हार्न मन नपराउने पनि बताए।

उनले भने, ‘मलाई हार्न मन पर्दैन, म हार स्वीकार्न सक्दिन। विश्वकपमा छनोट हुनु नै पहिलो लक्ष्य हो। विश्वकपमा मुख्य प्रशिक्षक भएर जानु मेरो लागि पनि विशेष हुनेछ।’

टेस्ट क्रिकेट नेपालको ठूलो सपना भएकोबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले त्यसका लागि केही समय लाग्ने र आवश्यक संरचना बनाउनुपर्नेमा जोड दिए।

कोर क्याम्पका लागि छनोट गरिएका ५३ खेलाडीबाट बलियो राष्ट्रिय टोली बनाइने र मैदानमा छिरेपछि खेलाडीहरूले आफ्नै निर्णय लिनुपर्नेमा उनले जोड दिए।

‘म एकदम रिल्याक्स किसिमको कोच हुँ। मलाई ह्वाइटबोर्ड मनपर्दैन। मलाई क्रिकेटमा अति धेरै संरचना पनि मनपर्दैन। खेलाडीले आफ्ना खेलबारे आफैं सोच्नुपर्छ। मैदान छिर्नुअघिसम्म प्रशिक्षकको भूमिका हुन्छ, त्यसपछि खेलाडी आफैंले गर्नुपर्छ।’

यसअघि बंगलादेश, भारत, पाकिस्तानलगायत देशमा आइसकेका स्टुअर्ट पहिलो पटक कुनै राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रूपमा नेपाल आएका हुन्। नेपाल क्रिकेटलाई माथि उठाउन थुप्रै चुनौतीहरू रहेको स्वीकार्दै उनले ती चुनौती सामना गर्न आएको बताए।

उनले थपे, ‘मलाई थाहा छ, नेपाल क्रिकेटको प्रशिक्षक हुनु सजिलो छैन। तर हामीसँग निकै प्रतिभाशाली खेलाडीहरू छन्। त्यसैको भरमा संरचना बनाउनेछौँ। नेपाली क्रिकेटलाई माथि पुर्याउन शतप्रतिशत मेहेनत गर्नेछौँ।’