मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टसँग अन्तरक्रिया सम्पन्न भएको छ । भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय ग्लेनरोयमा सम्पन्न कार्यक्रममा वाणिज्यदूत निराजन गौली, भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन, एनआरएन अष्ट्रेलिया, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका पदाधिकारीले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै एनआरएन भिक्टोरियाका सहसंयोजक एवं तेक्वान्दो खेलाडी महादेव धानुक, एनआरएन सचिव ससेन्द्र केसी, भीएनसीए अध्यक्ष सुदिप न्यौपाने, एनआरएन अष्ट्रेलिया स्पोर्टस कोअर्डिनेटर यशवन्त सुवेदी, एनआरएन भिक्टोरिया स्पोर्टस कोअर्डिनेटर सजन शर्मा र फारवेष्ट हन्टर क्रिकेट क्लबका अध्यक्ष धिरेन्द्र कुँवरले नेपाली खेलकुदमा विष्टको योगदानको चर्चा गरेका थिए ।
ओलम्पिक पदक विजेता दिपक विष्टसँगै फिफाका पूर्वरेफ्री सुरेन्द्र सिखराकरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरुका साथै भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु उपस्थित थिए । कार्यक्रममा विदेशमा बसेर खेल क्षेत्रमा सक्रिय रहेकाहरुले नेपालको राष्ट्रिय प्रतियोगितामा कसरी खेल्न सक्छन् भन्ने विषयमा चर्चा भएको थियो । उक्त अवसरमा डा. खगेन्द्र थापाले आफ्नो छोरीले नेपालको राष्ट्रिय प्रतियोगितामा खेल्न खोजेपनि निश्चित तालिकाको अभावमा अप्ठेरो परिरहेको बताएका थिए ।

कीर्तिमानी खेलाडी दिपक विष्टले एनआरएनको तर्फबाट राष्ट्रिय प्रतियोगितामा खेल्ने प्रक्रियाको बारेमा जानकारी गराएका थिए । विष्ट साफ गेममा ४ पटकका गोल्ड मेडलिष्ट हुन् भने एशियन गेममा २ पटक कास्य पदक विजेता खेलाडी हुन् । हाल नेपाल खेलकुद परिषद्का निर्देशक रहेका विष्टले नेपालको खेल विकासमा एनआरएनको योगदान महत्वपूर्ण हुनसक्ने बताएका थिए । नेपाली खेलाडीहरुले विदेशमा रहेर पर्याप्त तालिम लिनसक्ने र खेलमा सुधार गरेर देशको नाम राख्नसक्ने विष्टको भनाई थियो ।



प्रतिक्रिया