भारतीय ऊर्जामन्त्री खट्टर आए नेपाल, अरुण तेश्रो अवलोकन गर्ने

भारतीय ऊर्जामन्त्री खट्टर आए नेपाल, अरुण तेश्रो अवलोकन गर्ने



काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।
उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ ।

त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् ।
खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।