अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली युवाको ज्यान गयो, अर्कोको उपचार हुँदै !

अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली युवाको ज्यान गयो, अर्कोको उपचार हुँदै !


सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको न्यूक्यासलस्थित जेनिथ समुद्र तटमा डुबेर एक नेपाली युवकको निधन भएको छ भने अर्को एकजनाको अस्पतालमा उपचार भइरहेको छ । दिउँसो तीन बजेपछि आपतकालीन सेवाका कर्मचारीहरुलाई यस घटनाबारे खबर पुगेको थियो । प्रहरी पुग्नुअघि नै त्यहाँ रहेका अन्य मानिसहरुले निजहरुलाई पानी बाहिर निकालेका थिए भने प्राथमिकता उपचार गरिएको थियो । चिकित्सकहरु आइपुगेपछि उनीहरुले पनि प्रयास गरेको भएपनि २४ वर्षीय युवक भने मृत घोषित भए ।
अर्को २५ वर्षीय युवालाई जोन हन्ट अस्पतालमा पठाइएको थियो । निजको अवस्था पनि चिन्ताजनक रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समुद्री छाल किनारातर्फ आएर फर्किने क्रममा उनीहरुलाई पनि सँगै डुबाएको अनुमान छ । न्यूसाउथवेल्सको सर्फ लाईफ सेभिंगका ड्युटी अफिसर ग्लेन डंक्लीले परिस्थिति जानकारीको अभावमा शान्त देखिने समुद्री किनारामा पनि शक्तिशाली पानीको बहाव हुनसक्ने बताएका छन् ।
दुर्घटना भएको क्षेत्रमा लाईफगार्डहरु नभएको र पौडिनका लागि या असुरक्षित मानिएको क्षेत्र भएको बताइएको छ । ग्लेनले भने, लाईफगार्ड नभएका क्षेत्रमा पौडी खेल्नेहरुको सुरक्षा प्रत्याभूत गर्न गाह्रो हुन्छ ।
नेपालबाट आउने विद्यार्थीहरुमा समुद्रमा आउने छालहरु र त्यसले पार्नसक्ने प्रभावको आंकलन गर्ने क्षमता विकास भइसकेको हुँदैन । निधन भएका युवकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।