मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन (भीएनसीए) ले अष्ट्रेलियाका नेपालीहरुको ओलम्पिक मानिने ओसेनिया नेप्लीज स्पोर्टस मिटमा पर्थ जाने क्रिकेट टोली सार्वजनिक गरेको छ । शनिबार मेलबर्नको ग्लेनरोयमा अवस्थित नेपाली वाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अमृत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै भीएनसीएका अध्यक्ष सुदीप न्यौपानेले प्रायोजकहरुको साथविना क्रिकेट टोली लिएर पर्थ जान सम्भव नभएको बताउँदै भिक्टोरियामा क्रिकेट खेलिरहेका उत्कृष्ट खेलाडीहरुलाई समेटेर भिक्टोरिया टिम निर्माण गरिएको बताए । नेपालको राष्ट्रिय टोलीमा समेत खेलिसकेका क्रिकेटरहरु यस पटकको भिक्टोरियाको टोलीमा छन् ।

क्याप्टेन अमृतसँगै सुनील धमला, आशिष जिसी, राजेश मगर, किशोर महतो, उदय देवकोटा, पारस लामिछाने, किरण कँडेल, विषम कँडेल, सुनील भट्ट, दिनेश सापकोटा रहेको टोली घोषणा गरिएको थियो । टिमको म्यानेजरमा रोशन पौडेल र शैलेश घिमिरे रहेका छन् ।
पौडेलले टिम सार्वजनिक गर्दै खेलाडीहरुको क्षमता र उनीहरुले खेल्ने विधाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै टिमका प्रशिक्षक वाइने स्चुल्जले टिमको क्षमतामा आफु विश्वस्त रहेको र यस पटक उपाधिको प्रबल दावेदार भिक्टोरियाको टिम रहेको बताए । उनले टिमको क्याप्टेन र म्यानेजरहरुका कारण बलियो टिम बन्न सफल भएको पनि बताएका थिए । उक्त अवसरमा नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।





क्रिकेट टिमको जर्सी प्रायोजकमध्येको काठमाडौं प्रोपर्टिंजका निर्देशक दिक्पालदेव पंगेनी, रिज कलेजका प्रतिनिधि सन्दिप श्रेष्ठ, एईएमसीका निर्देशक रामचन्द्र पौडेल र ग्राम्पीयन्स कलेजका बासुदेव मरहठ्ठाले सार्वजनिक गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक वाणिज्यदूत निराजन गौली र ओसेनिया नेप्लीज स्पोर्टस मिटका संस्थापक संरक्षक जोग लिम्बुले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
Watch Video –
https://www.facebook.com/KBCaus/videos/518509304669932

प्रतिक्रिया