काठमाडौं ।
भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । उनी नेपालमै छु भनेर भिडियो बनाएको केही घण्टामा नै भारतको आसामस्थित एक घरमा पक्राउ परेका हुन् । राजसंस्था पुनस्र्थापनाको लागि अभियान गरेको भन्दै हिंसात्मक र अराजक गतिविधि देखाएका दुर्गा प्रसाईं यतिबेला प्रहरीको खोजी सूचिमा थिए । प्रहरीले तीनकुनेमा भएको घटनाका विषयमा उनलाई पक्राउ जारी गर्दै खोजेको थियो ।
घटना लगत्तै भागेर भारत छिरेका प्रसाईंलाई भारतमा पक्राउ गरिएको भएपनि दुई देशबीच सुपुर्दगीको झमेला र समय लाग्ने भएका कारण गुपचुप नेपाली सिमानाबाट नेपाल प्रहरीले सार्वजनिक गर्न लागेको हो । भारत सरकारले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको अवस्था भएमा त्यसलाई राजनीतिक रंग दिन सकिने र उनको रिहाईका लागि बलियो आधार हुने अवस्था भएका कारण उनका वकिलहरु यतिबेला विज्ञप्ति प्रकाशित गर्न सक्रिय छन् ।
जसमा उनले आत्मसमर्पण गरेको र नेपाल प्रहरीको जिम्मा लगाउने क्रममा मुठभेडको बहानामा हत्या हुनसक्ने अथवा बेपत्ता बनाइसक्ने भन्दै उनीहरुले चिन्ता जाहेर गरेका छन् । केही समय जेल परेर छुटेका राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै यो क्रममा उनको जीवन रक्षाको अपिल गरेका छन् । यस्तो छ स्वागत नेपालको विज्ञप्ति
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ:
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाको लागि आह्वान
चैत्र २८, २०८१
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यबाद ज्ञापन गर्दछ।
उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।
उहाँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति
प्रतिक्रिया