काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको दावी गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु मानव अधिकार कार्यालय पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरुले राज्यले आफ्ना सभापतिविरुद्ध नियोजित रुपमा ज्यादती गरेको जिकिर उजुरीमा गरेका छन् ।
विदेशमा खाईपाई आएको तलब सुविधा सबै छोडेर स्वदेश फर्केको एक नागरिकलाई राज्यले अनाहकमा विभिन्न बहानामा फसाउन खोजेको, दुःख दिएको उनीहरुको जिकिर छ ।
सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।
भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।
लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया