आफ्ना नेता कार्यकर्ता छोड्न राप्रपाको २४ घण्टे अल्टिमेटम

आफ्ना नेता कार्यकर्ता छोड्न राप्रपाको २४ घण्टे अल्टिमेटम


काठमाडौं । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई अल्टिमेटम दिएको छ ।

शनिबार बसेको कार्यसम्पादन समिति बैठकले शुक्रबार आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई छोड्न २४ घण्टे अल्टिमेटम दिएको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । साथै उनले तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

शुक्रबार राजावादी प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले मिश्र, राणासहितका नेतालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं अरु घाइते छन् । राजावादी प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए । सञ्चार गृहदेखि पार्टी कार्यालय र व्यक्तिका घरसम्म पसेर तोडफोड तथा आगजनी गरेका थिए ।