विद्युत प्राधिकरणको हाकिमका रुपमा कुलमानको अन्तिम काम

विद्युत प्राधिकरणको हाकिमका रुपमा कुलमानको अन्तिम काम



हेटौँडा । यतिबेला कुलमानको चर्चा छ । उनलाई हटाइएको चर्चा । यससँगै कुलमानले टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय विजुली जोडेपछिको खुशीको खबर पनि यो बर्खास्तीको खबरसँगै चर्चित बनेको छ ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेपछि उनीहरु दंग परेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको पूर्ण वडा विद्युतियकरण घोषणा तथा उद्घाटनपछि यहाँका स्थानीय गाउँ उज्यालो भएपछि खुसी भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रममा राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर खैराङका बस्तीलाई झलमल्ल बनाएका थिए । उनले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वृद्ध उमेरमा गाउँमा बिजुलीबाट बत्ती बलेको देख्न पाउँदा तुलकुमारी निकै खुसी भइन् । टुकी र दियालोमा जीवन व्यतीत जीवनमै आफ्नो घरमै विजुली बलेपछि निकै हर्षित थिइन् उनी ।

उनीजस्तै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीर मान थिङको अनुहारमा पनि छुट्टै चमक थियो । बिजुलीबाट बत्ती बलेको देख्न पाउँदा वृद्धाहरू निकै खुसी भएका थिए ।

मकवानपुरकै दुर्गम खैराङमा २०७६र०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।

जब प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिएपछि खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युत्को पहुँच पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका छन् । २०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसङ्ख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । ती सबै घरमा विद्युत् पहुँच पुगेको छ ।

दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । यहाँका जेयष्ठ नागरिक कृष्णबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्तम थिङ लगायतकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेका थिए ।