नेपालीपनको धुनमा कन्दरा: अष्ट्रेलियामा नेपाल महोत्सवको धूम

नेपालीपनको धुनमा कन्दरा: अष्ट्रेलियामा नेपाल महोत्सवको धूम

यसरी घन्कियो मेलबर्नको मुटुमा ‘जय जय नेपाल’


“महाकाली मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र

वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र।”

महान संगीतकार गोपाल योञ्जनले लेखेका यी कालजयी हरफहरू आज झन् सान्दर्भिक लाग्छन्। संसारभरि छरिएर बसेका नेपालीहरूका लागि भूगोलले सीमित गर्न नसक्ने एउटा आत्मिक सम्बन्ध हुन्छ आफ्नै माटोसँग, आफ्नै संस्कृतिसँग, आफ्नै गीतसंगीतसँग। विदेशमा बसेर पनि हरेक नेपालीको मुटु नेपालसँगै जोडिएको हुन्छ, र यसलाई अभिव्यक्त गर्ने जिम्मेवारी नेपाली संगीतको ऐतिहासिक धरोहर ‘कन्दरा ब्याण्ड’ ले लिएको छ।

नेपाल महोत्सव २०२५ को अवसरमा अष्ट्रेलियामा कन्दरा ब्याण्डको सांगीतिक यात्रा अहिले उत्कर्षमा पुगेको छ। मेलबर्न र एडिलेड मा हजारौं नेपालीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा कन्दराले आफ्ना कालजयी गीतहरूमार्फत नेपाल र नेपालीपनको महत्त्वलाई पुनः स्मरण गरायो।

‘जय जय नेपाल’ को नारा घन्काउँदै उपस्थित दर्शकहरूले नेपाली संगीतलाई गहिरोसँग आत्मसात् गरे। गोपाल योञ्जनको भावनालाई नयाँ पुस्तासम्म पुर्‍याउने संकल्प कन्दरा ब्याण्डका मुख्य गायक बिवेक श्रेष्ठ भन्छन्, “यो गीत अहिलेको समयमा झन् गहिरो अर्थ बोकेको छ। हाम्रा अग्रज सिर्जनाकारहरूले दिएका सांगीतिक उपहारहरूलाई भावी पुस्तासम्म पुर्‍याउने हाम्रो जिम्मेवारी हो। त्यसैले हामी हाम्रा प्रत्येक कन्सर्टमा यो गीतलाई विशेष रूपमा प्रस्तुत गर्दै आएका छौं।”

नेपाली संगीत का महान सर्जक गोपाल योञ्जनले लेखेका र कम्पोज गरेका धेरै गीतहरू परदेशी नेपालीहरूको मनको भावना प्रतिबिम्बित गर्ने खालका छन्। त्यसैले कन्दराले यो सांगीतिक धरोहरलाई निरन्तरता दिँदै हरेक कार्यक्रममा उहा को गीत लाई श्रद्धांजलि स्वरूप प्रस्तुत गर्दै आएको छ। अष्ट्रेलिया टुरको शानदार यात्रा नेपाल महोत्सव २०२५ को मुख्य आकर्षणका रूपमा कन्दरा ब्याण्डले अष्ट्रेलियाका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति दिइरहेको छ।

मेलबर्न र एडिलेडमा सफल कार्यक्रम सम्पन्न भइसकेपछि अब कन्दरा क्यानबेरा, होबार्ट र ब्रिसबेन मा आफ्नो जादुमयी प्रस्तुति दिने तयारीमा छ। अन्ततः यो यात्राको समापन अप्रिल १३ मा न्यु क्यासल मा हुने अन्तिम कन्सर्टसँगै हुनेछ। कन्दरा ब्याण्डको यो सांगीतिक यात्रा नेपालीपनको धरोहरलाई अझ बलियो बनाउने दिशामा एउटा महत्वपूर्ण पाइला सावित हुनेछ। नेपाली संगीतको महत्त्व विदेशमा झन् बढ्दै गएको छ, र कन्दराले यस यात्रालाई अझ स्मरणीय बनाउन अहोरात्र मेहनत गरिरहेको छ।