भव्य आतिशबाजीका साथ सकियो डार्विनको नेपाल फेष्टिभल २०२२

भव्य आतिशबाजीका साथ सकियो डार्विनको नेपाल फेष्टिभल २०२२


डार्विन, अष्ट्रेलिया ।

डार्विनमा नेपाल फेष्टिभल २०२२ शनिबार सम्पन्न भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको नेपाल फेष्टिभलको अन्त्य रविन एण्ड रेभ्यूलुसनको कन्सर्टसँगै आतिशबाजीका साथ अन्त्य गरिएको थियो । अन्त्यमा डार्विनको आकाशमा आतिशबाजी भइरहँदा स्टेजमा रातो र चन्द्र सूर्य बोलको नेपाली गीत घन्किरहेको थियो । यसअघि दिउँसो नेपाली पोशाकमा सजिएर डार्विनमा एक पदयात्राको समेत आयोजना गरिएको थियो । नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लबको समेत सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपाल फेष्टिभलको आयोजना गरेको हो ।

कार्यक्रमस्थलमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने प्रतिस्पर्धा, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु समेत राखिएको थियो ।

नेपाल हाउसमा नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहित नै प्रदर्शनमा राखिएको थियो । यस्तै नेपाल फेष्टिभलमा गोर्खाली योद्धाहरुको छुट्टै स्टल राखिएको थियो भने । बेहुला बेहुली बनेर फोटो खिच्ने सुविधा पनि प्रदान गरिउको थियो । यो स्टलमा विदेशीहरुले समेत नेपाली पोशाक लगाएर नेपाली परम्परागत विवाहको झल्कोमा आफुलाई प्रस्तुत गर्ने अवसर पाएका थिए ।

अष्ट्रेलियामा नेपाली भाषा, संस्कृतिको प्रबद्र्धन मात्र होइन नेपाल भ्रमण गर्नका निम्ति अभिप्रेरित गर्ने किसिमले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी फोटोहरु प्रदर्शन गरिएको थियो ।

स्टेजमा रविन एण्ड रेभ्यलुसनको कन्सर्टअघि डार्विनका प्रतिभाहरुले विभिन्न गीत, संगति र नृत्यका साथ आफ्नो प्रस्तुति दिएका थिए । यस्तै अभिभावकहरुले प्रत्यक्ष बालन गीत गाएर माहोललाई आकर्षक बनाएका थिए । डार्विनको नेपाल फेष्टिभलमा सहभागी हुनका लागि अष्ट्रेलियाका विभिन्न शहरबाट पनि नेपाली समूदायका सदस्यहरु नर्दन टेरेटोरी पुगेका थिए ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष विष्णु चापागाईंका अनुसार करिब १० हजारले यस पटकको डार्विनको नेपाल फेष्टिभल अवलोकन गरेका छन् । नेपाल फेष्टिभल २०२२ डार्विनको चर्चित वाटरफ्रन्टमा आयोजना गरिएको थियो ।

Photos by : Catch Smile