पल शाहले जेलमै बसेर मुद्दाको जवाफ दिनुपर्ने, सर्वोच्च जाने विकल्प बाँकी

पल शाहले जेलमै बसेर मुद्दाको जवाफ दिनुपर्ने, सर्वोच्च जाने विकल्प बाँकी


कास्की  ।  उच्च अदालत पोखराले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। 

जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा बिहीबार उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पोखराका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन।”

अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा तीन महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा हुनुहुन्छ। कारागार चलान गर्ने तनहुँ जिल्ला अदालतको फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालतमा निवेदन दिनुभएको थियो। शाहलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग उहाँहरुको थियो।

उच्च अदालतमा सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गर्नुभएको थियो। 

यसैगरी सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गर्नुभएको थियो। रासस