एडिलेड, अष्ट्रेलिया । एडिलेडमा नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ । आईतबार दिनभर चलेको नेपाल फेष्टिभलमा १५ हजार दर्शक सहभागी भएको एनआरएन साउथ अष्ट्रेलियाका संयोजक सञ्जय पुरीले जानकारी दिए । उनले कार्यक्रमस्थलले दिएको जानकारी अनुसार १५ हजार दर्शक नेपाल फेष्टिभलमा सहभागी भएको खबर आफुले पाएको भन्दै सहभागी सबैलाई धन्यवाद दिए । आईतबार अधिकतम तापक्रम ३६ डिग्री थियो । यस्तो गर्मीमा पनि दर्शकहरु केही कुराको परवाह नगरी नेपाली गीत, संगीत, खाना, पहिरनमा सजिएर नेपाल फेष्टिभलमा सहभागी भएका थिए ।
नेपालीहरुका साथै साउथ अष्ट्रेलियामा बसोबास गर्ने अन्य समूदायका मानिसहरुले पनि अभिरुचिपूर्वक नेपाल फेष्टिभलमा सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव सहभागी भएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि यादव सहित साउथ अष्ट्रेलियाकी बहुसांस्कृति र पर्यटनमन्त्री जोय बेटिसन, साउथ अष्ट्रेलियाको विपक्षी लिवरल पार्टीका नेता भिन्सेन्ट टार्जिया, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, मुख्य प्रायोजक बुमर्याङ इन्टरनेशनलका निर्देशक आशिष वाग्ले, एनआरएनए उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले आफ्नो धारणा राखेका थिए ।
प्रमुख अतिथि राजदुत यादव र विशेष अतिथि मन्त्री वेटिसनले संयुक्त रुपमा पानसमा बत्ती बालेर फेस्टिवलको उद्घाटन गरेका थिए । नेपाल फेष्टिभलमा कन्दरा व्याण्डले आफ्नो हिट नम्बरका साथमा उपस्थित दर्शकहरुलाई नाच्न बाध्य बनाएको थियो । गायक विवेक श्रेष्ठले देशभक्तिले भरिपूर्ण गीतमार्फत स्टेजमा आफ्नो उपस्थिति दर्शाउँदा दर्शकहरुले हातमा मोबाइलको टर्च बालेर ऐक्यबद्धता जनाएका थिए ।


यस्तै गायक शिव परियार, गायिका समिक्षा अधिकारी लगायतले आफ्ना गीतमा उपस्थित दर्शकलाई झुमाएका थिए । दिनभर नै अष्ट्रेलियामा रहेका नेपाली गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिएका थिए भने नेपालका विभिन्न भाषाहरुमा गीत र नृत्य प्रस्तुत गरेका थिए । यस अधि एडिलेडको पिङ्की फ्ल्याटबाट शुरु भएको नेपाल परेड विभिन्न झाकीहरु सहित एल्डल्स पार्कमा पुगेर सभामा परिणत भएको थियो ।


अष्ट्रेलियाका विभिन्न शहरमा हरेक दुई वर्षमा नेपाल फेष्टिभल आयोजना हुने गर्दछ । यस पटक सिड्नी र पर्थमा सन् २०२४ मा नेपाल फेष्टिभल गरिएको थियो भने पाँच शहरमा लगातार नेपाल फेष्टिभलहरु भइरहेका छन् । नर्दन टेरेटोरीमा भने आगामी जुन महिनामा नेपाल फेष्टिभल गर्ने तयारी छ ।

प्रतिक्रिया