काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली संघभित्र देखिएको विवादलाई समाधान गर्नका लागि मन्त्रालयमा आयोजना गरेको छलफलमा एकताको अधिवेशन मे महिनामा गर्ने या अक्टोबरमा गर्ने भन्ने विषयमा दुई पक्षीय ध्रुवीकरण देखिएको छ । एकताको अधिवेशन गराउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घले पक्षले मे महिनामा अधिवेशन गराउनका लागि तयारी अघि बढिसकेका कारण यसैमा सबैजना एकताबद्ध हुनुपर्ने बताएका थिए । उनले यस्तो नगर्दा अदालतको आदेशको पनि अपहेलना हुने भनाई राखेका थिए । वर्तमान अध्यक्ष बद्री केसीले अक्टोबरको अधिवेशनलाई एकताको अधिवेशन बनाएर अघि जानुपर्ने धारणा राखेका थिए । पूर्वअध्यक्ष उपेन्द्र महतोले मितिमा विवाद होइन एकताबद्ध भएर अघि बढ्ने हो भने कुनै समयमा पनि अधिवेशन गर्न सकिने धारणा राखेका थिए । तर, उनको उडान भने परराष्ट्रमा नै दर्ता भएको अन्डू नामक संस्था भने खारेज गर्नुपर्छ भन्ने थियो ।
भौतिक रुपमा काठमाडौंमा उपलब्ध भएका एनआरएनका नेतागण उपस्थित थिए भने ककेही अनलाईनमार्फत जोडिएका थिए ।
सबैको कुरा सुनिसकेपछि परराष्ट्रमन्त्री राणाले दुबै पक्षलाई थप छलफल गरेर मे महिनामा एकताको अधिवेशन गरेर अक्टोबरमा वर्तमान कार्यसमितिले हस्तान्तरण गर्ने कि अक्टोबरमै एकताको अधिवेशन गर्ने भन्ने विषयमा टुंगोमा पुग्न आग्रह गरेकी थिइन् । विवाद समाधानका लागि छलफलको आयोजना गरिएको भन्दै मन्त्री राणाले मिलेर जान सुझाव दिएकी थिइन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बद्री केसीले परराष्ट्रमन्त्रीले दिएका दुबै विकल्पमा अहिलेको कार्यसमितिलाई आगामी अक्टोबरसम्म काम गर्न दिनुपर्ने कुरामा विवाद नरहेको बताएको सार्वजनिक गरेका छन् । आफुहरुले यसअघि नै निर्धारण गरेका विभिन्न क्षेत्रीय सम्मेलनहरु यथावत राख्ने उनको भनाई छ । बैठकमा पुर्वअध्यक्ष भवन भट्टले मे महिनामा एनआरएनको सम्मेलन गर्ने कुरा विभिन्न देशमा रहेका शाखाको अधिवेशनको हिसाबले पनि सम्भव नभएको बताएका थिए ।
प्रतिक्रिया