सिड्नी ।
तेस्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको महिलातर्फ उपाधी म्याग्दीकाली युनाईटेडले जितेको छ । अस्ट्रेलियामा लामो समय सामुदायिक पत्रकारिता गरेका स्वर्गीय पत्रकार कार्कीको स्मृतिमा बागलुङ समाज अस्ट्रेलियाले आइतबार सिड्नीमा महिला र पुरुष (भेट्रान) भलिबल प्रतियोगिता आयोजना गरेको हो । महिला भलिबलको प्रतिस्पर्धात्मक फाइनल खेलमा ढोरपाटन भलिबल क्लब विरुद्ध २ सेटले पछि परेको अवस्थालाई उल्ट्याउदै म्याग्दीकालीले उपाधि माथि कब्जा जमाउन सफल रह्यो ।
उत्कृष्ट कमव्याक गर्ने क्रममा म्याग्दीकालीले लगातार तीनै सेट जितेको थियो । समय अभाबका कारण पुरुष (भेट्रान) तर्फ सेमीफाइनल र फाइनलको खेल भने अर्को साता खेलाइने बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटाले जानकारी दिए । उनका अनुसार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलिया फाइनल प्रवेश गरिसकेको छ । गोल्डेन ब्वाइज र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) बीचको सेमीफाइनल खेल १–१ सेटको अवस्थामा सुरु हुनेछ । ‘समयअभावका कारण सेमीफाइनलको बाँकी खेल र फाइनलसँगै पुरस्कार वितरण अर्को साता हुनेछ’ अध्यक्ष सापकोटाले भने । प्रतियोगितामा महिलातर्फ ६ र पुरुष (भेट्रान)तर्फ १० टोलीको सहभागिता थियो ।


प्रतिक्रिया