काठमाडौं । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपनि अष्ट्रेलिया समूहमा ४ अंक लिएर सेमिफाईनलमा पुगेको हो ।
अफगान टिमले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आक्रामक सुरुवात गर्दै १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाइसकेको थियो । ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा अविजित रहे । म्याट शर्ट २० रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । सेडिकुल्लाह अटलले सर्वाधिक ८५ रन बनाए । अजमतुल्लाह ओमरजाइले शानदार फिनिसिङ गर्दै ६७ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन ड्वारसुइसले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसन र एडम जाम्पाले २(२ विकेट लिँदा नेथन एलिस र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।
अस्ट्रेलियाले सन् २००९ मा उपाधि जितेदेखि यता २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेको थिएन । पछिल्लोपटक त्यही २००९ को संस्करणमा सेमिफाइनल खेलको अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो ।
समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया